जनकपुर, ९ भदौ । विश्वव्यापी आर्थिक तरलताको अभाव, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा आएको सुस्तता र लगानीयोग्य पूँजीको कमीको असर मधेश प्रदेशका उद्योग–व्यवसायमा देखिन थालेको छ । प्रदेशमा उद्योग तथा व्यापारिक फर्म बन्द हुने क्रम बढेसँगै प्रादेशिक अर्थतन्त्र दबाबमा परेको देखिएको छ ।
मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर १ हजार ९३८ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा भएको छ । बन्द हुनेमध्ये ८ सय २१ वटा उद्योग र १ हजार १ सय १७ वटा प्राइभेट तथा साझेदारी वाणिज्य फर्म रहेका छन् ।
मन्त्रालयका अनुसार स्थानीय तहबाटै उद्योग दर्ता हुने क्रम बढ्नु तथा वित्तीय संकट गहिरिँदै जानु व्यवसाय बन्द हुनुका प्रमुख कारणमध्ये हुन् । कर्जा सहज रूपमा उपलब्ध नहुनु, बजारमा माग कमजोर हुनु र सञ्चालन खर्च बढ्नुले समेत व्यवसायीलाई दबाबमा पारेको बताइएको छ ।
यद्यपि, व्यवसाय बन्द भइरहेकै अवस्थामा नयाँ उद्योग तथा फर्म दर्ता हुने क्रम भने रोकिएको छैन । मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार गत आवमा प्रदेशभर ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन् भने ७ हजार ५ सय ४० वटा उद्योग नवीकरण भएका छन् ।
नयाँ उद्योग दर्तामा पर्सा जिल्ला अगाडि रहेको छ । पर्सामा १ हजार १ सय १ वटा नयाँ उद्योग दर्ता हुँदा धनुषामा ७ सय ७७, बारामा ६ सय ३९, सर्लाहीमा ६ सय ३६, सिरहामा ५ सय ५४, रौतहटमा ५ सय ३३, महोत्तरीमा ५ सय १४ र सप्तरीमा ३ सय १४ वटा उद्योग दर्ता भएका छन् ।
वाणिज्य क्षेत्रतर्फ पनि नयाँ फर्म दर्ता र नवीकरणको संख्या उल्लेख्य छ । समीक्षा अवधिमा ६ हजार १२२ वटा नयाँ प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म दर्ता भएका छन् । यसैगरी ११ हजार १ सय ४४ वटा वाणिज्य फर्म नवीकरण भएका छन् ।
उद्योग तथा वाणिज्य फर्मको दर्ता, नवीकरणलगायत प्रशासनिक सेवाबाट प्रदेश सरकारले गत आवमा ५ करोड २६ लाख ४९ हजार ५ सय ६२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
नयाँ उद्योग तथा व्यवसाय दर्ताको तथ्यांकले प्रदेशमा लगानी र उद्यमशीलताको सम्भावना अझै कायम रहेको संकेत गरे पनि ठूलो संख्यामा पुराना व्यवसाय बन्द हुनुले अर्थतन्त्रमा देखिएको चुनौतीलाई उजागर गरेको छ । व्यवसायीले सहज कर्जा, लगानीमैत्री वातावरण र बजार विस्तारका प्रभावकारी उपाय आवश्यक रहेको बताएका छन् ।