विराटनगर । भन्सार विभागले साउन १९ गते भन्सार जाँचपासमा इजाजतपत्र पाएका भन्सार जाँचपास प्रतिनिधिबाहेक अनधिकृत व्यक्तिहरूलाई भन्सार जाँचपास कार्यमा संलग्न नगराउन देशभरिका भन्सार कार्यालयहरूलाई निर्देशन दियो ।
भन्सार जाँचपासमा लाइसेन्सधारी एजेन्टका नाममा अनधिकृत व्यक्ति हाबी भएर विकृति बढेको र व्यापक रूपमा राजस्व छली भएको भन्दै विभागले यस्तो निर्देशन दिएको थियो ।
त्यसलगत्तै भन्सार एजेन्ट महासंघ काठमाडौँ र विराटनगर भन्सार एजेन्ट संघले विज्ञप्ति निकालेर विभागको निर्देशनको स्वागत गर्दै तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
तर विभागले निर्देशन दिएको झन्डै तीन साता बित्दासम्म विराटनगर भन्सारमा कार्यान्वयन हुन सकेको छैन । यहाँ लाइसेन्सधारी भन्सार प्रतिनिधिको लाइसेन्स भाडामा लिएका अनधिकृत व्यक्तिबाटै भन्सार जाँचपास भइरहेको छ ।
यति मात्र होइन, त्यस्ता अनधिकृत व्यक्तिले आफ्नो नाममा फर्म खोलेर भ्याटमा दर्ता गर्ने अनि अर्काको लाइसेन्स प्रयोग गरेर समानान्तर भन्सार जाँचपास समेत गर्दै आएको पाइएको छ ।
विराटनगर भन्सार एजेन्ट संघमा ४०–५० जना लाइसेन्स प्राप्त भन्सार एजेन्ट आबद्ध छन् । तीमध्ये मुस्किलले ५–६ जना लाइसेन्सधारी एजेन्टले मात्र आफैँ भन्सार जाँचपास गर्दै आएका छन् । तीबाहेक बाँकी सबै लाइसेन्सधारी एजेन्टले आफ्नो लाइसेन्स वार्षिक कम्तीमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म भाडामा लगाएर भन्सार राजस्व छली गर्दै आएका छन् ।
अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गर्दै आएका त्यस्ता अनधिकृत व्यक्तिले आफ्नो नाममा कुनै एक निश्चित फर्म भ्याटमा दर्ता गरेर सबै व्यापारिक र औद्योगिक वस्तुको समानान्तर भन्सार जाँचपास गरी भन्सार राजस्व प्रभावित गर्दै आएको समेत खुलेको छ ।
भन्सार विभागको निर्देशनअनुसार लाइसेन्सधारी एजेन्टले मात्र भन्सार जाँचपास गराउने काम विराटनगर भन्सारमा कार्यान्वयन हुन नसकेको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले स्वीकार गरे । उनले भने, ‘कार्यान्वयनका लागि प्रयत्न भइरहेको छ, तर सफल भएको छैन ।’
लाइसेन्सधारी भन्सार प्रतिनिधि सामान जाँचपास गर्न आउँदै आउँदैनन् । उनीहरूले खटाएका प्रतिनिधि मात्र आउँछन् । श्रेष्ठले भने, ‘अनधिकृत व्यक्तिले लाइसेन्सधारी एजेन्टको हस्ताक्षर गरेर सामान जाँचपास गराइरहेका छन् ।’
भन्सार एजेन्ट महासंघका सचिव प्रवीण जोशीले विभागको निर्देशन पालना गर्न महासंघ तयार रहे पनि तत्काल सम्भव नभएको बताए । ‘भन्सार एजेन्टका नाममा अनधिकृत व्यक्तिको पहुँच बढ्दा भन्सारभित्र विकृति बढेको छ,’ जोशीले भने, ‘त्यसलाई नियन्त्रण गर्न विभागको प्रयत्न सराहनीय छ तर व्यावहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन ।’
उनले विभागको निर्देशन कार्यान्वयनका लागि महासंघ प्रयासरत रहेको बताए । विभागको निर्देशन मुलुकभरि एकैदिन लागू गर्ने प्रयत्नमा महासंघ लागेको उनी बताउँछन् ।
‘भन्सार एजेन्टका नाममा अनधिकृत व्यक्तिहरूको प्रवेश र पहुँचले भन्सारभित्र विकृति भित्र्याउनुका साथै जिम्मेवारी बोध नै हराएको छ,’ जोशीले भने, ‘अब स्वयं लाइसेन्सधारी एजेन्टले मात्र भन्सार जाँचपास गर्दा अनधिकृत व्यक्तिका कारण भइरहेका विकृति नियन्त्रण हुन्छन् ।’
तर जोशीको आफ्नै लाइसेन्समा उनले खटाएका प्रतिनिधिले भन्सार जाँचपास गर्दै आएको पाइएको छ । उनी विदेश हुँदा वा विराटनगरबाहिर भएको अवस्थामा उनको लाइसेन्सबाट उनका प्रतिनिधिले नियमित भन्सार जाँचपास गर्दै आएको पाइएको हो।
जोशीको लाइसेन्समा उनको हस्ताक्षर अंग्रेजीको ‘८’ ९ड० छ । त्यही ‘८’ लेखेर जोशीको नाममा अनधिकृत व्यक्तिले भन्सार जाँचपास गराउने गरेको पाइएको छ ।
‘मैले अरूको जस्तो लाइसेन्स भाडामा लगाएर अनधिकृत व्यक्तिबाट जाँचपास गराएको होइन,’ ‘डिजिटल हस्ताक्षरको जमाना छ । त्यसैअनुसार आफ्नो विश्वासपात्रलाई आफ्नो हस्ताक्षर गरेर जाँचपास गराएको हुँ ।’ तर उनी अरू लाइसेन्सधारीले अनधिकृत व्यक्तिलाई वार्षिक निश्चित रकममा भाडामा लगाएर भन्सार राजस्व प्रभावित गर्दै आएको बताउँदै आएका छन् ।
आफूले अनधिकृत व्यक्तिबाट भन्सार जाँचपास गराउँदै आए पनि देशभरिका भन्सार एजेन्टहरूको कानुनी पहिचान र पेसागत मर्यादासँग जोडिएको विषय भएकाले देशभरका भन्सार नाकाहरूमा अनधिकृत व्यक्तिको प्रवेश रोकेर लाइसेन्सधारी एजेन्टहरूलाई मात्र काम गर्ने वातावरण बनाउन महासंघ सक्रिय रहेको बताउन जोशीले छाडेका छैनन् ।
लाइसेन्सधारी कारबाहीमा, अनधिकृतको रजगज
आफ्नो लाइसेन्स भाडामा लगाएर भन्सार राजस्व हिनामिना गरेको आरोपमा साउन पहिलो साता लाइसेन्सधारी भन्सार एजेन्ट भरत भट्टराईलाई विराटनगर भन्सार कार्यालयले तीन महिनाका लागि निलम्बन गर्यो ।
तर उनको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गराउने अनधिकृत व्यक्ति अकबर अली अहिले अर्का लाइसेन्सधारी एजेन्ट दयानन्द मण्डलको लाइसेन्स प्रयोग गरेर भन्सार जाँचपास गर्दै छन् ।
अलीले पछिल्लो पटक नेपाल ट्रेडिङ इन्डस्ट्रिसहित धागो, सिलाई मेसिन, होजियारी र लत्ताकपडाको भन्सार जाँचपास गराएर सामान छुटाएको पाइएको छ ।
यसअघि उनले भट्टराईको लाइसेन्स वार्षिक दुई लाख रुपैयाँ भाडामा लिएर भन्सार जाँचपास गर्दा प्रज्ञापन पत्रमा वास्तविक विवरण लुकाएर भन्सार राजस्व छली गरेको पुष्टि भएपछि विराटनगर भन्सारले भट्टराईलाई तीन महिना निलम्बन गरेको थियो ।
विराटनगर भन्सारले असार अन्तिम साता अलीले प्रज्ञापन पत्रमा लुकाएको १ लाख ५७ हजार मूल्यको सामान जफत गर्दै ५ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
‘त्यसबापत भट्टराईलाई तीन महिना निलम्बन गरियो,’ विराटनगर भन्सार प्रमुख श्रेष्ठले भने, ‘तर लाइसेन्स भाडामा लिएर काम गर्नेलाई के कारबाही गर्ने भन्ने कुनै कानुनी आधार नै छैन ।’
विराटनगर भन्सारका नाममा यस्तो प्रकरण र विकृति पहिलो भने होइन । विगतमा पनि विराटनगर भन्सारमा अर्काको भन्सार जाँचपास गर्ने लाइसेन्स भाडामा लिएर भन्सार राजस्व ठगी गरेको आरोपमा एजेन्टहरू कारबाहीमा पर्दै आएका थिए । केही एजेन्टले भन्सार यार्डमा राखिएको मालवाहक ट्रक भन्सार जाँचपास नै नगराई बजार पुर्याएको उदाहरण पनि विराटनगर भन्सारका लागि नयाँ होइन ।
अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गर्दै भन्सार राजस्व छली गर्दै आएका कुन्दन मण्डल र रिवाज रोक्का यसअघि कारबाहीमा परेका थिए । मण्डललाई भन्सारले १६ लाख र रोक्कालाई ४ लाख जरिवाना गरेर एक महिना काममा रोक लगाएको थियो ।
भन्सार विभागले साउन १९ गते भन्सार जाँचपासमा इजाजतपत्रवाला भन्सार जाँचपास प्रतिनिधिबाहेक अन्य कुनै पनि अनधिकृत व्यक्तिहरूलाई भन्सार जाँचपास कार्यमा संलग्न नगराउन देशभरिका भन्सार कार्यालयहरूलाई निर्देशन दिएको छ । तर भन्सार अधिकृत गोपिकृष्ण उप्रेतीको नाममा रहेको लाइसेन्समा राकेश ठाकुर, अर्का भन्सार कर्मचारी प्रदीप साहकी पत्नी प्रीति साहको नामको लाइसेन्समा सञ्जय दुगड लगायत दुई दर्जनभन्दा बढी अनधिकृत व्यक्तिले विराटनगर भन्सारमा जाँचपास गराउँदै आएको विराटनगर भन्सार स्रोतको दाबी छ ।
स्रोतका अनुसार लाइसेन्स भाडामा लिएर जाँचपास गर्नेमा केही भारतीय नागरिक पनि छन् । विभागको निर्देशनलाई कार्यान्वयन गर्ने हो भने लाइसेन्सधारी भन्सार एजेन्टको पनि अनिवार्य रूपमा हाजिरी गराउनुपर्ने अवस्था रहेको तर त्यो सम्भव नहुने भन्सार अधिकारीहरू बताउँछन् ।