वीरगञ्ज, ९ भदौ । बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा क्षेत्रमा विद्यालय केन्द्रित सचेतना अभियान सुरु गरिएको छ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीको पहलमा सुरु भएको अभियानअन्तर्गत विद्यालयमै पुगेर बालबालिकालाई व्यक्तिगत सुरक्षा, अनुचित स्पर्शको पहिचान तथा जोखिमपूर्ण अवस्थाबाट जोगिने उपायबारे प्रशिक्षण दिन थालिएको हो।
गिरीले आफूले अध्ययन गरेको जीतपुरस्थित जीवन ज्योति सेकेन्ड्री स्कुलबाट अभियानको सुरुवात गरेका हुन्। प्रशिक्षणका क्रममा बालबालिकालाई आफूलाई असहज वा अनुचित लाग्ने स्पर्शको प्रतिरोध गर्न तथा त्यस्ता घटना लुकाएर नराखी अभिभावक, शिक्षक वा विश्वासिलो व्यक्तिलाई जानकारी गराउन सचेत गराइएको छ।
कार्यक्रममा बालबालिकामाथि हुन सक्ने यौनजन्य हिंसा तथा दुर्व्यवहारका सम्भावित संकेत, जोखिमबाट बच्ने उपाय र असहज परिस्थितिमा अपनाउनुपर्ने व्यवहारबारे समेत जानकारी दिइएको गिरीले बताए।
विद्यालय तहदेखि नै बालबालिकालाई आफ्नो सुरक्षा र आत्मरक्षासम्बन्धी आधारभूत ज्ञान प्रदान गर्न सके हिंसा तथा दुर्व्यवहारका घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने गिरीको भनाइ छ।
उनका अनुसार अभियानलाई जीतपुरसिमरा क्षेत्रका अन्य विद्यालयमा समेत विस्तार गरिनेछ। अभियानमा विद्यार्थीका साथै शिक्षक र अभिभावकलाई समेत सहभागी गराउने तयारी गरिएको छ।
बालबालिकाको सुरक्षा परिवार वा विद्यालयको मात्रै जिम्मेवारी नभई समुदायको समेत साझा दायित्व भएकाले हिंसा तथा दुर्व्यवहार नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको गिरीले बताए।