वीरगंज महानगरपालिका वडा नम्बर २१ पटेलनगरस्थित ब्रहमबाबाको भोगमा रहेको सार्वजनिक जग्गा फिर्ता गराउने माँगसहित स्थानीयवासीले हस्ताक्षर अभियान सुरु गरेका छन्। गाउँ–समाजको निर्णयअनुसार एक सातासम्म स्थानीयवासीको हस्ताक्षर संकलन गर्ने अभियान सञ्चालन गरिएको अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले जानकारी दिए।
पटेलनगर गाउँको दक्षिणपट्टि रहेको ब्रहमबाबाको भोगमा स्थानीयवासीले लामो समयदेखि उपभोग गर्दै आएको करिब एक कठा जग्गा केही व्यक्तिले निजी नाममा पास गराई कब्जा गर्ने प्रयास गरेको गाउँलेको आरोप छ। सार्वजनिक हितमा प्रयोग हुँदै आएको उक्त जग्गा संरक्षण गर्नुपर्ने मागसहित गाउँ भेलाबाट संघर्षका कार्यक्रम तय गरी हस्ताक्षर अभियान सुरु गरिएको कुर्मीले बताए।
स्थानीय जलन्धर प्रसाद कुर्मीले ब्रहमबाबाको भोगको जग्गा कुनै हालतमा गाउँलेले नछाड्ने चेतावनी दिए। उनका अनुसार केही व्यक्तिले गुपचुप रूपमा जग्गा खरिदबिक्री गरी निजी पुर्जा बनाए पनि स्थलगत रूपमा उक्त जग्गा सार्वजनिक हितमा प्रयोग हुँदै आएको छ।स्थानीयवासीले विवादित जग्गा ब्रहमबाबाको नाममा दान गरी सार्वजनिक प्रयोजनमै कायम गर्न सम्बन्धित पक्षसँग आग्रहसमेत गरेका छन्।
जग्गा फिर्ता ल्याउने अभियानमा पूर्व गाविस अध्यक्षद्वय जतनराउत कुर्मी र सदनराउत कुर्मीसहित स्थानीय अगुवा गोपाल पटेल, गजाधर पटेल, उमेश पटेल, अमरदेव राउत कुर्मी, सोनालाल साह कलवार, केदार पटेललगायतको समर्थन रहेको जनाइएको छ।
गाउँलेका अनुसार गाउँकै एक जना र बारा प्रसौनी गाउँपालिकाका अर्का एक जना गरी दुई व्यक्तिले ब्रहमबाबाको भोगमा रहेको करिब एक कठा जग्गा निजी रूपमा हत्याउन खोजेका छन्। यद्यपि, जग्गाको स्वामित्व तथा दर्तासम्बन्धी दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
हस्ताक्षर संकलन अभियान सम्पन्न भएपछि स्थानीय प्रहरी प्रशासनलाई जग्गाको अवस्थाबारे जानकारी गराउने र त्यसपछि थप संघर्षका कार्यक्रम अघि बढाउने तयारीमा गाउँले रहेका छन्।