बीरगन्ज,१० भदौ । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) को १५०१औँ जन्मजयन्ती अर्थात् मिलादुन्नबी आज नेपालभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई अल्लाहका अन्तिम सन्देष्टा (रसुल) का रूपमा श्रद्धापूर्वक मान्दै आएका छन्। जन्मजयन्तीका अवसरमा काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदसहित देशभरका मस्जिद तथा मदरसाहरूमा विशेष नमाज, कुरान पाठ, धार्मिक प्रवचन र प्रार्थनाका कार्यक्रम भइरहेका छन्।
यस अवसरमा मुस्लिम समुदायले पैगम्बर मोहम्मदले मानव समाजका लागि दिएको दया, करुणा, सत्य, सद्भाव र विश्व भाइचाराको सन्देश स्मरण गर्दै विभिन्न र्याली तथा विचार गोष्ठीसमेत आयोजना गरेका छन्। सहभागीहरूले समाजमा शान्ति, सहिष्णुता र आपसी सद्भाव कायम गर्न उहाँका शिक्षाको महत्व रहेको बताएका छन्।
ऐतिहासिक मान्यताअनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको पवित्र सहर मक्कामा भएको थियो। पछि उहाँ मदिना प्रस्थान गर्नुभएको थियो। उहाँको जीवन र शिक्षासँगै इस्लाम धर्मको विस्तार भएको मानिन्छ। इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान उहाँलाई अवतरित भएको मुस्लिम समुदायको धार्मिक विश्वास छ।
मक्का र मदिनालाई इस्लाम धर्मावलम्बीहरूको प्रमुख पवित्र तीर्थस्थलका रूपमा लिइन्छ। विश्वभरका मुस्लिम धर्मावलम्बीहरू आफ्नो जीवनमा कम्तीमा एकपटक मक्का पुगेर हज गर्ने धार्मिक आकांक्षा राख्छन्।
मिलादुन्नबीका अवसरमा नेपालका विभिन्न स्थानमा पनि धार्मिक कार्यक्रमसँगै सामाजिक सद्भाव, शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने गतिविधि आयोजना भइरहेका छन्।