वीरगञ्ज । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे क्षेत्रमा अलपत्र परेका ९५ जनासहित कुल १२३ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
अविरल वर्षासँगै भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरेलगायत आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेपछि जोखिममा रहेका नागरिकलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो। बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भएपछि उद्धार कार्यलाई प्राथमिकता दिइएको जनाइएको छ।
उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा पुर्याएर आवश्यक राहत तथा व्यवस्थापनको काम भइरहेको छ। प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले उद्धार र राहत कार्यलाई निरन्तरता दिएका छन्।
यसैबीच, पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादवले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि रु। ५ लाख राहत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित परिवारलाई उक्त रकम सहयोग गर्ने घोषणा गरिएको यादवले बताएका छन्।
बाढी प्रभावितलाई तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन स्थानीय तह, सुरक्षा निकाय, संघसंस्था तथा सहयोगी व्यक्तिहरूबीच समन्वय भइरहेको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै जोखिम कायम रहेकाले स्थानीय प्रशासनले नागरिकलाई नदी, खोला तथा तटीय क्षेत्र आसपास नजान र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। सम्भावित थप क्षति रोक्न उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको जनाइएको छ