काठमाडौं,११ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ ।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य, केन्द्रीय सदस्य पार्वत गुरुङलगायत सहभागी छन् ।
टोलीमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष सहायक रथी विनोद पाण्डे ९अप्र०, मोर्चा संगठन प्रमुख विशाल भट्टराई, युवा तथा खेलकुद विभाग प्रमुख अमित लामा र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे पनि छन् ।
एमाले प्रचार विभाग प्रमुख आचार्यका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नेछ । साथै स्थानीय तहसँग उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
टोलीले स्थानीय प्रशासनसँग उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा समेत छलफल गर्नेछ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पार्टीका कार्यकर्तालाई समेत परिचालन गरिने आचार्यले जानकारी दिए ।