वीरगञ्ज । नेवार समुदायले दिवंगत पितृहरूको सम्झनामा मनाउने गाईजात्रा पर्व वीरगञ्जमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ।
सपारु समिति पर्साको आयोजनामा निकालिएको गाईजात्रा वीरगञ्ज–६ स्थित अलखिया अतिथि सदनबाट सुरु भई मुख्य सडक हुँदै माइस्थान मन्दिर पुगेको थियो। त्यहाँ दर्शन तथा पूजापछि २ नम्बर रोड हुँदै बिर्तामाई मन्दिर पुगेर दर्शन गरिएको थियो। त्यसपछि पुनः मुख्य सडक हुँदै अलखिया अतिथि सदनमा पुगेर जात्रा समापन गरिएको आयोजकले जनाएको छ।
सपारु समिति पर्साका अध्यक्ष सञ्जय जोशीको अध्यक्षतामा आयोजित जात्रामा नेवार समुदायका साथै विभिन्न समुदायका अग्रज, महिला, युवा तथा समितिका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू बाजागाजासहित जात्रामा सहभागी भएका थिए।
कार्यक्रममा अध्यक्ष जोशीले गाईजात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक पर्व भएको बताए। मल्लकालीन इतिहाससँग जोडिएको गाईजात्रा राजा जयप्रकाश मल्लको पालादेखि विशेष रूपमा प्रचलनमा आएको उनको भनाइ थियो।
राजा जयप्रकाश मल्लका छोराको अल्पायुमै निधन भएपछि रानी शोकमा डुबेको र उनलाई शोकबाट बाहिर ल्याउन राज्यभर मृत्यु भएका व्यक्तिका परिवारले गाई, राधाकृष्ण, जोगी लगायतका स्वरूप बनाएर जात्रा निकाल्ने परम्परा सुरु भएको अध्यक्ष जोशीले बताए। उक्त जात्रा देखेपछि रानीले मृत्यु सबैको जीवनमा आउने सत्यलाई आत्मसात् गर्दै शोकबाट बाहिर आएको जनश्रुति रहेको उनले बताए।
गाईजात्राले दिवंगत आफन्तको सम्झना तथा सम्मान गर्नुका साथै समाजमा मृत्यु जीवनको स्वाभाविक सत्य भएको सन्देश दिने अध्यक्ष जोशीको भनाइ थियो। वीरगञ्जमा पनि वर्षौंदेखि गाईजात्रा मनाउँदै आएको उल्लेख गर्दै उनले यसलाई सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिए।
जात्रामा सहभागीहरूले परम्परा, जात्रा तथा सांस्कृतिक मेलाहरू कुनै एक समुदायको मात्र नभई सबैको साझा सम्पत्ति र धरोहर भएको बताएका थिए। उनीहरूले यस्ता मौलिक संस्कृति तथा परम्पराका बारेमा नयाँ पुस्तालाई जानकारी गराउँदै संरक्षण र निरन्तरताका लागि सबै पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।