भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीबाट प्रभावित आयोजनामा कार्यरत तथा फसेकामध्ये ८९८ जना अझै सम्पर्कविहीन छन्। उद्धार टोलीले हालसम्म ३६१ जनालाई जीवितै उद्धार गरेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० का अनुसार बाढीबाट रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित भएका छन्। आयोजना क्षेत्रमा कार्यरत ठूलो संख्यामा श्रमिक तथा कर्मचारीसँग सम्पर्क हुन नसकेपछि खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक छन्। २१६ मेगावाट क्षमताको उक्त आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ।
तर आयोजनाको सुरुङभित्र अझै करिब ३०० जना फसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञ टोली नेपाल आइपुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।
लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जनाको उद्धार गरिएको छ। यी आयोजनाबाट उद्धार गरिएकासहित हालसम्म ३६१ जनाको उद्धार भएको हो।
रसुवामा सात आयोजना प्रभावित
भोटेकोशी बाढीबाट रसुवाका सात जलविद्युत् आयोजना प्रभावित भएका छन्। इप्पानका अनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मैलुङ–ए, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला आयोजना प्रभावित भएका हुन्।
बाढीले आयोजना क्षेत्रका संरचनामा क्षति पुर्याएपछि त्यहाँ कार्यरत जनशक्तिको अवस्था यकिन हुन सकेको छैन। सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी र उद्धारका लागि टोली परिचालन गरिएको छ।
नुवाकोटमा पनि ६ आयोजना प्रभावित
नुवाकोटका त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्।
इप्पानका अनुसार प्रभावित आयोजनाको कुल क्षमता तथा संरचनामा बाढीले क्षति पुर्याएको छ। आयोजनामा कार्यरत कतिपय कर्मचारी तथा श्रमिकसँग सम्पर्क स्थापित हुन नसकेपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
सुरुङभित्र फसेकाको उद्धार चुनौती
माथिल्लो त्रिशूली–१ को सुरुङभित्र मात्रै करिब ३०० जना फसेको अनुमान गरिएपछि उद्धार कार्य थप जटिल बनेको छ। सुरुङभित्रको अवस्था र बाढीबाट भएको क्षतिका कारण उद्धारमा विशेष प्राविधिक जनशक्ति तथा उपकरण आवश्यक देखिएको छ।
चीनबाट विज्ञ टोली नेपाल आएपछि सुरुङभित्र फसेकाको उद्धारमा प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। सम्पर्कविहीनको संख्या र उद्धार गरिएकाको विवरण थप अद्यावधिक हुने क्रममा रहेको छ। हालसम्मको विवरणअनुसार ८९८ जना सम्पर्कविहीन र ३६१ जनाको उद्धार भएको छ।
अनलाईन खबर