वीरगञ्ज- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा हिमपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्याब्सन जिल्ला कार्यसमिति पर्सा र प्याब्सन महानगर वीरगञ्जले संयुक्त रूपमा राहत संकलन अभियान सञ्चालन गर्ने भएका छन्।
प्याब्सन पर्सा र वीरगञ्ज महानगरले जिल्लाका सम्पूर्ण सदस्य विद्यालयलाई अभियानमा सहभागी भई स्वेच्छिक रूपमा सहयोग संकलन गर्न अपिल गरेका छन्। विद्यालयहरूले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यालयको तर्फबाट आफ्नो क्षमता र इच्छाअनुसार सहयोग रकम संकलन गरी उपलब्ध गराउन सक्ने जनाइएको छ।
प्राकृतिक विपत्ति कुनै व्यक्ति वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाज र राष्ट्रको पीडा भएको भन्दै विपद्मा परेकालाई सहानुभूतिमा मात्र सीमित नराखी सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको प्याब्सनले जनाएको छ।
प्याब्सन पर्साका अनुसार सदस्य विद्यालयबाट संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। उक्त रकम विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा प्रयोग हुने विश्वास व्यक्त गरिएको छ।
सहयोगका लागि PABSON PARSA,को नाममा रहेको प्राइम कमर्सियल बैंक लिमिटेड, वीरगञ्ज शाखाको खाता नं.02901000000077500178 मा रकम जम्मा गर्न सकिने जनाइएको छ। सहयोग स्वेच्छिक हुने र कुनै किसिमको बाध्यता वा दबाब नरहेको प्याब्सनले स्पष्ट पारेको छ।
प्याब्सन महानगर वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले संयुक्त रूपमा जारी गरेको अपिलमा विद्यालय शिक्षा प्रदान गर्ने संस्था मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय भावना विकास गर्ने महत्वपूर्ण केन्द्रसमेत भएकाले विपद्को समयमा एकजुट हुन आग्रह गरिएको छ।