वीरगंजबाट प्रकाशित साप्ताहिक पत्रिका मध्य नेपाल सन्देशले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयमा प्यानल छलफल आयोजना गरेको छ।
वीरगंजको क्लासिक ब्याङ्क्वेटमा आईतबार आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै पन्तले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नागरिकका समस्या, गुनासा र आवाज राज्यका सम्बन्धित निकायसम्म पुर्याउने काम सञ्चार क्षेत्रले गर्दै आएको बताए।
उनले पत्रकारिता सत्य, तथ्य र निष्पक्षतामा आधारित हुनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने सरकारको कुनै नीति नरहेको दाबी गरे। निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय पत्रकारितामा देखिएका विकृति र कमजोरी नियन्त्रण गर्ने उद्देश्यले गरिएको उनको भनाइ थियो।
पन्तले पछिल्लो समय बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गरे।
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केशी लामिछानेले सरकारमा युवाको सहभागिता सकारात्मक पक्ष भए पनि सरकारको कार्यशैली र नियतमाथि प्रश्न उठाए। उनले सरकार गठन भएको छोटो समयमै सञ्चारमाध्यम र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपका प्रयास सुरु भएको आरोप लगाए।
पत्रिकाकी सम्पादक कविता खड्काले सहजीकरण गरेको प्यानल छलफलमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जनमत पार्टीकी नेतृ रम्भा मिश्रा, सामाजिक अभियन्ता बबिता जयसवाल र प्राध्यापक उमा मिश्रा सहभागी थिए।
छलफलमा २०८४ सालमा हुने निर्वाचनमा महिलाको राजनीतिक सहभागिता, निर्वाचनमा उम्मेदवारी, प्रतिनिधित्व तथा नेतृत्वको अवसरलगायतका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
वार्षिकोत्सवकै अवसरमा मध्य नेपाल सन्देशले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधेश प्रदेशका उत्कृष्ट महिला पत्रकार सम्मान’ यस वर्ष सर्लाहीकी पत्रकार बन्दना झालाई प्रदान गरेको छ। प्रतिनिधिसभा सदस्य पन्तले झालाई सम्मानपत्रसहित ११ हजार रुपैयाँ नगद प्रदान गरी सम्मान गरेका थिए।
झा मधेश प्रदेश सरकारअन्तर्गतको मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्षसमेत हुन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव केशी लामिछाने, मधेश प्रदेश सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पूर्वअध्यक्ष सुबोध गुप्तालगायत पत्रकार, उद्योगी, कानुन व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।