सुनसरी,१५ भदौ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्। नदीमा जल सतह बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि ब्यारेजका ढोका क्रमशः खोलिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ ६ बजे कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ८४ हजार ७८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। त्यसबेला २१ वटा ढोका खोलिएका थिए।
तर, पानीको बहाव थप बढेर राति ८ बजे प्रतिसेकेन्ड १ लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि थप एक ढोका खोल्दै २२ वटा ढोका सञ्चालनमा ल्याइएको खड्काले जानकारी दिए।
कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सचेत गराउन पश्चिमतर्फ खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
हाल तत्काल डुबानको जोखिम नरहे पनि आइतबार दिउँसोदेखि नै नदीको जल सतह बढिरहेको भन्दै आसपासका बासिन्दा तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको छ। प्रहरीले जोखिमपूर्ण क्षेत्रमा नजानसमेत अनुरोध गरेको छ।
तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा सप्तकोशी नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने लगायतका गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले आग्रह गरेको छ।
प्रहरीले नदीको बहाव थप बढ्न सक्ने भएकाले अवस्था हेरेर आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीयवासीलाई अनुरोध गरेको जनाएको छ।