जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, ग्रुप १६ वीरगञ्जले दीप प्रज्वलन गर्दै मानव अधिकार, सत्य र न्यायको पक्षमा आवाज उठाएको छ।
३० अगस्टका अवसरमा आयोजित कार्यक्रममा नेपालमा पछिल्लो समय आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा सहभागीहरूले विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकार, नागरिक समाज र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
एम्नेस्टी ग्रुप १६ वीरगञ्जका अध्यक्ष रजनिश झाको नेतृत्वमा भएको कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, ग्रुपका सचिव सुनील महतो, पूर्वअध्यक्ष तथा मेन्टर राजेश जैन, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष झाले जबर्जस्ती बेपत्ता पार्ने कार्य गम्भीर मानव अधिकार उल्लङ्घन भएको उल्लेख गर्दै बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन राज्य जिम्मेवार बन्नुपर्ने बताए।
उनले सत्य, न्याय र जवाफदेहिताका लागि एम्नेस्टीले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै बेपत्ता व्यक्तिका परिवारले न्याय नपाएसम्म अभियान जारी रहने बताए।
कार्यक्रममा सहभागीहरूले बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय र उचित परिपूरणको सुनिश्चितता गर्न राज्यसँग मागसमेत गरेका थिए।