वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा रहेको थ्री स्टार होटलमा छापा मार्ने क्रममा प्रहरी टोलीमाथि हातपात तथा झडप भएको घटना सार्वजनिक भएको छ। घटनामा केही प्रहरी घाइते भएको प्रहरी स्रोतले जनाएको छ।
भदौ १३ गते शनिबार होटलमा छापा मार्ने क्रममा प्रहरी टोलीमाथि केही व्यक्तिले हातपात तथा अवरोध गरेको बताइएको छ। त्यसपछि प्रहरी र ती व्यक्तिहरूबीच झडप भएको जनाइएको हो।
घटनापछि वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले ९ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकामध्ये ६ जनालाई सामान्य जिम्मा–जमानीमा रिहा गरिएको बताइएको छ।
तर झडपमा मुख्य भूमिका खेलेको आरोप लागेका तीन जना भने प्रहरी नियन्त्रणमै रहेको स्रोतले जनाएको छ। उनीहरूमाथि प्रहरीमाथि अभद्र व्यवहार तथा प्रहरीको काममा अवरोध गरेको आरोपमा अनुसन्धान अघि बढाइएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार विशालकुमार साह, अजयकुमार गुप्ता र विशाल यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ।
यसैबीच नियन्त्रणमा रहेका तीन जनालाई छुटाउन राजनीतिक दबाब तथा चलखेल भइरहेको चर्चा पनि वीरगञ्जमा हुन थालेको छ। यद्यपि, राजनीतिक दबाब परेको भन्ने विषयमा प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेको छैन।
कानुन कार्यान्वयन गर्ने निकायका प्रहरीमाथि नै हातपात भएको घटनामा निष्पक्ष अनुसन्धान तथा कानुनअनुसार कारबाही हुनुपर्ने स्थानीयस्तरबाट आवाज उठ्न थालेको छ। आरोपितलाई राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिइएमा प्रहरीको मनोबल र कानुनी शासनमाथि असर पर्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासँग आधिकारिक धारणा लिन सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन। घटनाबारे प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।
घटनामा वास्तविक रूपमा के भएको हो भन्ने विषय निष्पक्ष अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिन्छ।