वीरगञ्ज, १७ भदौ- बैंकर्स एसोसिएसन वीरगञ्जको आयोजनामा बाढी–पहिरो प्रभावित, विशेषगरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित रक्तदान कार्यक्रममा ९ महिलासहित १११ जनाले रक्तदान गरेका छन्।
एसोसिएसनका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दहाल सहभागी भएका थिए। कार्यक्रममा बोल्दै दहालले रक्तदानजस्तो मानवीय कार्यले संकटका बेला आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवा नेता अरविन्द सिंहलगायतको उपस्थिति रहेको थियो। वीरगञ्जस्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रमलाई रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको प्राविधिक सहयोग रहेको थियो। रक्तदाताहरूलाई आवश्यक स्वास्थ्य परीक्षण तथा रक्त संकलनको व्यवस्थापन रक्तसञ्चार केन्द्रको टोलीले गरेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलाष गुप्ताको समेत विशेष उपस्थिति रहेको थियो।
बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा जोड्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले विपद्को समयमा सहयोग पुर्याउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत योगदान गरेको आयोजकको भनाइ छ।