काठमाडौँ — संयुक्त राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारले भोटेकोशी बाढी प्रभावित ८४ हजारभन्दा बढीलाई जीवनरक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन ४ करोड ९६ लाख अमेरिकी डलर (७ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ) को आपत्कालीन सहयोग आह्वान गरेका छन् ।
१० भदौमा आएको विनाशकारी बाढीपछि प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्न चारमहिने सहायता योजना सार्वजनिक गरिएको हो । विपद्मा हालसम्म १३ सयभन्दा बढीको शव भेटिएको छ । ५ हजारभन्दा बढी बेपत्ता भएका छन् । रसुवा, नुवाकोट र धादिङका बस्तीहरू विस्थापित भएका छन् ।
सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरिएको उक्त रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा संरक्षणसम्बन्धी सेवा उपलब्ध गराइनेछ । विशेषगरी दुर्गम तथा उच्च हिमाली क्षेत्रमा रहेका प्रभावितलाई प्राथमिकता दिइनेछ ।
परिवारहरूले आफ्ना प्रियजन, घर र जीविकोपार्जनका साधन सबै गुमाएका छन् । ती सबै केही मिनेटमै बाढीले बगायो,) नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले विज्ञप्तिमार्फत भनेकी छन्, जाडो सुरु हुनुअघि नै सबैभन्दा दुर्गम समुदायमा नगद, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ पानी र संरक्षणसम्बन्धी सहायता पुर्याइनेछ ।ु