काठमाडौं- भोटेकोशी बाढीपीडितका लागि राहत र उद्धारका सामग्री बोकेर थाई एयर फोर्स काठमाडौंमा अवतरण भएको छ। झण्डै २० हजार केजी राहत र उद्धार सामग्री लिएर थाई एयर फोर्स आज बैंककबाट काठमाडौंमा आएको हो।
थाइल्याण्ड सरकारले पठाएका राहत सामग्री नेपालस्थित थाइल्याण्डका राजदुत वापोङ सिरिसोर्नले विज्ञान तथा नवप्रवर्तक मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, बेलायतलगायत राष्ट्रहरुले सहयोग गरेका छन्।
भदौ १० गते हिमताल फुटेर भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १,३४१ जनाको शव फेला परेको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्। प्रहरीका अनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका छन्।