चितवन,२२ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा सडक विस्तारका लागि भित्तो काट्ने काम तीव्र बनाउन आजदेखि सवारीसाधन आवागमनमा आंशिक रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्डअन्तर्गत कृष्णभिरमा भइरहेको सडक मर्मतको समय सदुपयोग गर्दै तुइन खोलामा माटो कटानको काम अघि बढाउने जनाएको हो।
प्रशासनका अनुसार तुइन खोला क्षेत्रमा दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न पाँच चरणमा गरी कुल १० घण्टा सवारीसाधन पूर्ण रूपमा रोकिनेछ।
निर्धारित तालिकाअनुसार बिहान ६ देखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० बजेसम्म, ११ देखि दिउँसो १ बजेसम्म, १ः३० देखि ३ः३० बजेसम्म र दिउँसो ४ देखि साँझ ६ बजेसम्म सडक बन्द रहनेछ।
रोकिएको समयमा बीचमा भने आधा घण्टाका लागि यातायात सञ्चालन गरिनेछ। बिहान ८ देखि ८ः३०, १०ः३० देखि ११, दिउँसो १ देखि १ः३० र ३ः३० देखि ४ बजेसम्म रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइने व्यवस्था गरिएको छ। साँझ ६ बजेपछि भने सडक नियमित रूपमा सञ्चालन हुनेछ।
कृष्णभिरमा नयाँ ट्र्याक निर्माण गरी आवागमन सहज बनाउन केही समय लाग्ने र हाल उक्त क्षेत्रमा सवारीसाधनको चाप कम रहेकाले सोही अवसरमा तुइन खोलाको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ।
निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यातायात व्यवस्थापनमा यस्तो व्यवस्था गरिएको प्रशासनको भनाइ छ। प्रशासनले उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई तोकिएको समयतालिका हेरेर यात्रा गर्न र निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।