काठमाडौं, २३ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनले उठाएका मूल मुद्दा र जनताले दिएको म्याण्डेटप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै घिसिङले आन्दोलन केवल सरकार परिवर्तनका लागि नभई शासनशैली, राजनीतिक संस्कार र राज्य सञ्चालनको प्रणालीमा परिवर्तनको मागसहित उठेको पुस्ताको आवाज भएको बताएका हुन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने, सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा राज्यका हरेक निकायमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेलगायत माग राख्दै गत वर्ष भदौ २३ र २४ गते जेनजी युवाहरूले आन्दोलन गरेका थिए।
घिसिङले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा शारीरिक र मानसिक पीडा भोगिरहेका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनका अनुसार जेनजी आन्दोलनपछि गठन भएको सरकारले गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउने महत्वपूर्ण काम गरेको भए पनि आन्दोलनको म्याण्डेटअनुसार प्राप्त झण्डै दुईतिहाइ जनमतलाई अपेक्षित परिणाममा रूपान्तरण गर्न नसकेको अनुभूति भएको छ।
सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै समाधान नभएको घिसिङको दाबी छ।
उनले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्ने तथा उत्पादनमुखी अर्थतन्त्रमार्फत रोजगारी सिर्जना गर्ने कामलाई तीव्रता दिनुपर्ने बताएका छन्।
त्यस्तै, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन, पूर्वाधार विकास तथा आर्थिक समृद्धिको आधार निर्माणमा सरकारले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।
‘अब केवल भाषण, घोषणा र राजनीतिक नाराले पुग्दैन। जेनजी पुस्ताले सडकमा बगाएको रगत, गुमाएको जीवन र उठाएको आवाजको सम्मान परिणामबाट हुनुपर्छ,’ घिसिङले भनेका छन्। उनले जनताले चाहेको परिवर्तन शासन गर्ने व्यक्तिको परिवर्तनमा मात्र सीमित नभई शासन गर्ने संस्कार, प्रणाली र कार्यशैलीमै हुनुपर्ने बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा उज्यालो नेपाल पार्टीले सरकारलाई आन्दोलनका मूल माग र जनताले दिएको म्याण्डेटप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएको घिसिङले जानकारी दिएका छन्। सरकारका निर्णय तथा कामकारबाहीमा पार्टीले निरन्तर खबरदारी, प्रश्न र निगरानी गर्ने तथा आवश्यकताअनुसार रचनात्मक दबाब सिर्जना गर्ने उनले बताएका छन्।
सुशासन, समृद्धि, सामाजिक न्याय र अवसरमा समान पहुँचसहितको नयाँ नेपाल निर्माणको अभियानमा उज्यालो नेपाल पार्टी दृढतापूर्वक अघि बढ्ने घिसिङको भनाइ छ। ‘जेनजी आन्दोलनको बलिदान केवल इतिहास बन्नु हुँदैन–त्यसको म्याण्डेट राज्य सञ्चालनको मार्गदर्शन बन्नुपर्छ,’ उनले भने।