वीरगन्ज,२३ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितका लागि वीरगन्जमा संकलन गरिएको राहत सामग्री मंगलबार जेनजी पर्सालाई हस्तान्तरण गरिएको छ।
वीरगन्ज महानगरपालिका–१० का होटल व्यवसायी तथा समाजसेवी राजेश सिंहको अगुवाइमा स्थानीयस्तरबाट संकलन गरिएको राहत सामग्री जेनजी पर्साका संयोजक महादेवप्रसाद कुर्मीलाई हस्तान्तरण गरिएको हो।
स्थानीय युवा सोनु साह कलवारका अनुसार बाढीपीडितका लागि संकलन गरिएको राहत सामग्रीमा २१ बोरा चामल, ७० प्याकेट च्यूरा, २५ कार्टुन चाउचाउ, ११ दर्जन मञ्जन, १० प्याकेट बिस्कुट, ५९ जोर जुत्ता तथा चप्पल, ५ थान साडी, २५ सेट कुर्था–सुरुवाल, ४ थान कम्बल, ८० थान सेनेटरी प्याड, बालबालिकाका ५० थान कपडा र ४८ थान पेन्टीलगायत सामग्री रहेका छन्।
समाजसेवी सिंहले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले स्थानीयको सहयोगमा सामग्री संकलन गरी हस्तान्तरण गरिएको बताए।
राहत सामग्री बुझ्दै जेनजी पर्साका संयोजक कुर्मीले प्राप्त सामग्री दुई–तीन दिनभित्र बाढी प्रभावित क्षेत्रमा पुर्याएर पीडितलाई वितरण गरिने जानकारी दिए।