२४ भदौ,वीरगञ्ज । बाराको कलैयामा अटो रिक्सा सञ्चालनमा विद्यमान नियम–कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै सम्पूर्ण बारा यातायात प्रालिले म्याजिक तथा बस सडकमा रोकेर विरोध जनाएका छन्।
बुधबारदेखि म्याजिक तथा बस सञ्चालनमा रोक लगाउँदै यातायात व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएसम्म सवारीसाधन सञ्चालन नगर्ने चेतावनी दिएका छन्।
सम्पूर्ण बारा यातायात प्रालिका सचिव राजन जयसवालका अनुसार कलैयादेखि वीरगन्जसम्म अटो रिक्सा सञ्चालन भइरहे पनि तिनको कागजपत्र तथा कानुनी मापदण्डको प्रभावकारी रूपमा जाँच हुन सकेको छैन। म्याजिक तथा बसको नियमित रूपमा कागजपत्र जाँच हुने गरे पनि अटोको हकमा समान रूपमा नियम लागू नभएको उनको आरोप छ।
जयसवालले बारामा सञ्चालनमा रहेका करिब ७५ प्रतिशत अटोमा आवश्यक कागजपत्र, चालक अनुमतिपत्र, ब्लुबुक तथा रुट परमिट नरहेको दाबी गरे। उनका अनुसार वीरगन्जदेखि सिम्रौनगढसम्म अटो सञ्चालन भइरहे पनि म्याजिक तथा बसमा लागू हुने नियम अटोमा प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन।
अटोले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको भन्दै उनले यसबाट यात्रुको सुरक्षामा समेत जोखिम बढेको बताए। नियमविपरीत सञ्चालन भइरहेका अटोमाथि तत्काल नियमन तथा कानुनी कारबाही गर्नुपर्ने व्यवसायीहरूको माग छ।
व्यवसायीहरूले आफूहरूले मन्त्रालय तथा अदालतका पत्रसहित कलैया उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढलाई समेत जानकारी गराइसकेको बताएका छन्। तर, आफूहरूको मागअनुसार कानुन कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।
सम्पूर्ण बारा यातायात प्रालिले अटो सञ्चालनका लागि आवश्यक कानुनी मापदण्ड तत्काल लागू गर्न सम्बन्धित निकायसँग माग गरेको छ। माग सम्बोधन नभएसम्म म्याजिक तथा बस सञ्चालन नगर्ने उनीहरूले चेतावनी दिएका छन्।
विरोध कार्यक्रममा सम्पूर्ण बारा यातायात प्रालिका अध्यक्ष दिपेन्द्र साहसहित म्याजिक तथा बसका चालक तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।