बारा, २५ भदौ । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बाराको कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गर्ने भएको छ।
उपमहानगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले बाढीका कारण ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले आर्थिक सहयोग गर्न लागेको बताए।
उनका अनुसार सहयोग रकम जनप्रतिनिधिको सेवासुविधा, कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकको तलबबाट हुने योगदान र उपमहानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट जुटाइनेछ।
उपमहानगरपालिकाका अनुसार कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकबाट सरकारको निर्णयअनुसार ५३ लाख ६२ हजार १०५ रुपैयाँ संकलन हुनेछ। त्यस्तै, जनप्रतिनिधिको १५ दिनको सेवासुविधाबापत ८ लाख ४ हजार ५०० रुपैयाँ र उपमहानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट १६ लाख ११ हजार १७१ रुपैयाँ उपलब्ध गराइनेछ।
यी सबै रकम जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७७ लाख ७७ हजार ७७७ रुपैयाँ जम्मा हुनेछ।
नगर प्रमुख साहले विपद्को समयमा स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा नागरिक सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै कलैया उपमहानगरपालिकाको सहयोगले बाढीपीडितको राहत तथा पुनर्स्थापना कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरे।