भक्तपुर,२६ भदौ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा भण्डारण गरिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा भण्डारण गरिएका ग्यास सिलिन्डर फेला परेका थिए। प्रशासनको अनुरोधपछि ती सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको हो।
ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा विभिन्न भोज तथा कार्यक्रम धेरै हुने भएकाले ग्यास आवश्यक पर्ने भन्दै आफू चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका थिए। तर, स्थानीय प्रशासनले तत्काल आवश्यकताका आधारमा उक्त ग्यास सर्वसाधारणलाई वितरण गरेको जनाएको छ।
यसैबीच, जिल्ला प्रहरीले ग्यासको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–२, इटाछाका ४१ वर्षीय राजेश कर्मचार्यलाई १४ वटा सगर ग्यास सिलिन्डरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सूर्यविनायक नगरपालिका–३, ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह पनि पक्राउ परेका छन्। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भएका साहले प्रतिसिलिन्डर २ हजार ८०० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत बरामद गरेको जनाएको छ।
ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, अवैध रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्ने गतिविधिमाथि निगरानी र अनुगमनलाई थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।