सप्तरी,२७ भदौ । प्रसूति व्यथा लागेकी महिला अस्पतालमा भर्ना हुन नसकेपछि सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको घटनापछि सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै चिकित्सक, स्टाफ नर्स, कास, सुरक्षा गार्ड र स्वीपरसहित ६ जनालाई छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि कामबाट हटाएको जनाएको हो।
अस्पतालका अनुसार कामबाट हटाइनेमा डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर, सुरक्षा गार्ड देवकान्त झा तथा स्वीपर कृष्ण मेहतर रहेका छन्।
राजविराज नगरपालिका–१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानले गत मंगलबार प्रसूति व्यथा लागेपछि गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। तर अस्पतालले भर्ना नलिएपछि उनले सडक पेटीमै बच्चा जन्माएको घटना सार्वजनिक भएको थियो।
सडक पेटीमै महिलाले बच्चा जन्माएको दृश्य सार्वजनिक भएपछि अस्पतालको सेवा तथा व्यवस्थापनप्रति व्यापक आलोचना भएको थियो। पैसा तिर्न नसकेका कारण महिलालाई अस्पतालमा भर्ना नगरिएको आरोपसमेत सार्वजनिक भएपछि घटना थप चर्चामा आएको हो।
घटनापछि सरकारले छानबिन समिति गठन गरी सत्यतथ्य अनुसन्धान अघि बढाएको छ। समितिले घटनाको वास्तविकता र कर्मचारीहरूको भूमिकाबारे अध्ययन गरिरहेको छ।
अस्पतालले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा थप आवश्यक निर्णय तथा कारबाही गरिने जनाएको छ।