काठमाडौ,२७ भदौ । साउदी अरबको प्रमुख ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि यसको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणबाट केही पम्पिङ स्टेसनमा आगलागी हुनुका साथै केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानमा पाइपलाइनमाथि क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको देखिएको छ। आक्रमणमा प्रयोग भएका ड्रोन इराकबाट आएको हुन सक्ने उनीहरूको प्रारम्भिक निष्कर्ष छ। यद्यपि, घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।
साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा पटक–पटक आक्रमण भएको जनाएको छ। सुरक्षाका लागि पाइपलाइन बन्द गरी क्षतिको मूल्याङ्कन तथा आवश्यक सुरक्षा व्यवस्था गर्न टोली परिचालन गरिएको मन्त्रालयको भनाइ छ।
साउदी विदेश मन्त्रालयले पनि रियाद र मदिना क्षेत्रमा रहेको ईस्ट–वेस्ट पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनले आक्रमण गरेको जनाएको छ। आक्रमणबाट भौतिक क्षति भएको र मर्मत कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।
आक्रमणपछि साउदी अरबले तत्काल सैन्य प्रतिकार नगर्ने निर्णय गरेको छ। इराकी प्रधानमन्त्रीले आफ्नो भूमिबाट साउदी अरब तथा अन्य छिमेकी मुलुकमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएपछि इराकलाई कारबाहीका लागि अवसर दिन तत्काल प्रतिकार नगर्ने साउदी पक्षले जनाएको छ।
इराक सरकारले पनि घटनाको निन्दा गर्दै आक्रमणमा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान सुरु गरेको जनाएको छ। इराकले आफ्नो भूभाग वा हवाई क्षेत्र कुनै पनि देशमाथि आक्रमणका लागि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएको छ।
पम्पिङ स्टेसनमा ठूलो क्षति
उपग्रहबाट खिचिएका तस्बिरमा पाइपलाइनसँग जोडिएका केही पम्पिङ स्टेसनमा ठूलो आगलागी भएको देखिएको छ। अल–मिस्बाह नजिकको एउटा स्टेसनमा व्यापक आगलागी भएको तथा अल–धेक्ट्रा क्षेत्रको अर्को स्टेसनमा बाक्लो कालो धुवाँसहित आगो लागेको देखिएको बताइएको छ।
अमेरिकी अधिकारीहरूले पम्पिङ स्टेसनमा भएको क्षति तुलनात्मक रूपमा छिटो मर्मत गर्न सकिने भए पनि पाइपलाइनमै ठूलो क्षति पुगेमा पुनः सञ्चालन गर्न थप समय लाग्न सक्ने बताएका छन्। यद्यपि, सम्पूर्ण क्षति र मर्मतका लागि लाग्ने समयबारे अहिले नै यकिन भइसकेको छैन।
होर्मुज संकटपछि बढ्यो पाइपलाइनको महत्व
अमेरिका–इरान युद्धका कारण स्ट्रेट अफ होर्मुजबाट हुने तेल ढुवानी प्रभावित भएपछि ईस्ट–वेस्ट पाइपलाइन साउदी अरबका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ।
यस पाइपलाइनमार्फत साउदी अरबले फारसको खाडीबाट नपठाई तेललाई लाल सागरस्थित यान्बु बन्दरगाहतर्फ लैजान सक्छ। तर लाल सागर क्षेत्रमा समेत इराननिकट हुथी समूहको गतिविधि र धम्कीका कारण साउदी तेल निर्यातको वैकल्पिक मार्ग जोखिममा पर्न सक्ने चिन्ता बढेको छ।
पाइपलाइनमाथिको पछिल्लो आक्रमणले मध्यपूर्वमा जारी युद्धको प्रभाव तेल उत्पादन र ढुवानीसँग सम्बन्धित महत्वपूर्ण पूर्वाधारसम्म फैलिएको संकेत गरेको छ।
विश्व बजारमा थप दबाबको जोखिम
मध्यपूर्वमा बढ्दो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य यसै साता प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। साउदी अरब विश्वको प्रमुख तेल आपूर्तिकर्तामध्ये एक भएकाले यसको निर्यात पूर्वाधारमा लामो समयसम्म अवरोध आएमा विश्व बजारमा आपूर्ति घट्ने र तेलको मूल्य थप बढ्न सक्ने चिन्ता छ।
पछिल्लो आक्रमणले साउदी अरबको तेल उत्पादन क्षमताभन्दा पनि तेल निर्यात गर्ने पूर्वाधारको सुरक्षामाथि बढ्दो जोखिम उजागर गरेको छ। मध्यपूर्वको द्वन्द्व थप फैलिँदै गएमा यसको प्रत्यक्ष असर विश्व ऊर्जा बजार र उपभोक्तामाथि पर्न सक्ने देखिएको छ।