बारा । सिम्रौनगढ नगरपालिका–९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरा मावि) बडेर्वामा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्।
विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई समेत ध्यानमा राख्दै विद्यालयले विभिन्न खेल तथा मनोरञ्जनात्मक प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।
विद्यालयका प्रधानाध्यापक चेतमन प्रसाद दासका अनुसार विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलाप आवश्यक भएकाले प्रतियोगिता आयोजना गरिएको हो। प्रधानाध्यापक दास तथा माध्यमिक तहका शिक्षक बालेश्वर चौधरीको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो।
विद्यालयकी सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी लक्ष्मी ढकालले अतिरिक्त क्रियाकलापले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
उनका अनुसार खेलकुद तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीको सहभागिताले उनीहरूमा अनुशासन, आत्मविश्वास, स्वस्थ प्रतिस्पर्धाको भावना तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउँछ। विद्यालयले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा खेलकुदसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन्।
विभिन्न खेलमा विद्यार्थी उत्कृष्ट
कक्षा समूहअनुसार आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
चम्चा–गुच्चा खेल (कक्षा ४ र ५) मा एलिजा कुमारी प्रथम, राधा कुमारी द्वितीय र रोशनी कुमारी तृतीय भए।
त्यस्तै, तातो आलु खेल (कक्षा ५ र ६) मा नैतिक प्रसाद प्रथम, गंगा तिवारी द्वितीय र बिजुली ठाकुर तृतीय भए।
म्युजिकल चेयर (कक्षा ६ देखि ८) मा पूजा कुमारी प्रथम, रागनी कुमारी द्वितीय र रञ्जना कुमारी तृतीय हुन सफल भए।
यसैगरी, घैँटो फुटाउने खेल (कक्षा ९ र १०) मा अखलेश राउत विजेता बने।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई विद्यालयका शिक्षक–शिक्षिका तथा अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा रहेको प्रतिभा पहिचान र उजागर गर्नुका साथै आत्मविश्वास, अनुशासन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि विभिन्न खेलकुद, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै जाने जनाएको छ।