वीरगञ्ज– पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि रु. ७६ लाख ५९ हजार ५ सय बराबरको सहयोग परियोजना स्वीकृत भएको छ।
Lions Clubs International District 325,S सम्पन्न प्रथम District Cabinet Meeting ले उक्त विद्यालय भवन निर्माणसम्बन्धी परियोजना स्वीकृत गर्ने निर्णय गरेको हो। परियोजना लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीको पहल, समन्वय तथा सक्रियतामा अघि बढाइएको जनाइएको छ।
ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको यस परियोजनाले विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
परियोजना स्वीकृतिका लागि पहल, समन्वय तथा सहयोग गर्नुहुने Lions Clubs International District 325,S का अध्यक्ष लायन रामबिहारी पाण्डेय, सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति लायन्स क्लब अफ पोखरिया परिवारले आभार व्यक्त गरेको छ।

यसै अवसरमा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई लायन्स क्लबको पिन लगाई सम्मानसमेत गरिएको थियो। सम्मानपछि शमानीले आफू अत्यन्तै खुसी र गौरवान्वित भएको बताउँदै आफूलाई प्रदान गरिएको माया, विश्वास र सम्मानका लागि हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
विद्यालय भवन निर्माणका लागि स्वीकृत भएको यस सहयोग परियोजनाले स्थानीय बालबालिकाको शिक्षामा पहुँच र विद्यालयको शैक्षिक वातावरण सुधारमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।