२९ भदौ, काठमाडौँ । ‘बालापनको रक्षा :भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ आज देशभर विविध कार्यक्रम गरी ६२औँ राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ ।
बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, अभिभावक तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते यो दिवस मनाइँदै आएको हो ।
यस वर्षको बाल अधिकार दिवस विशेष गरी प्राकृतिक विपद्बाट प्रभावित बालबालिकाको संरक्षणमा केन्द्रित बनेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठुलो धनजनको क्षति भएको छ । बाढीका कारण कैयौँ बालबालिकाले बाबुआमा तथा संरक्षक गुमाएका छन् भने कतिपय स्वयं घाइते, विस्थापित वा बेपत्ता भएका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार बाढी प्रभावित क्षेत्रका अनाथ, घाइते तथा जोखिममा परेका बालबालिकाहरूको तत्काल उद्धार, राहत, अस्थायी संरक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन राज्यका संयन्त्रहरू पूर्ण रूपमा क्रियाशील रहेका छन् । विपद्को यस कठिन घडीमा बालबालिकाको सुरक्षा र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर पुनरुत्थानका कामहरू अघि बढाइएको परिषद्ले जनाएको छ ।
दिवसका अवसरमा आज राष्ट्रिय बाल अधिकार परिषद्, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका साथै बाल अधिकारको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संघ-संस्थाहरूले सचेतनामूलक तथा राहत लक्षित कार्यक्रमहरू आयोजना गरेका छन् ।