वीरगञ्ज, भदौ २९ - वीरगञ्जको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थान युवा क्लबले यस वर्ष पनि आठौँ गणेश पूजा महोत्सव भव्य रूपमा आयोजना गरेको छ। माईस्थान मन्दिर अगाडिको पार्कमा आयोजित महोत्सवको सोमबार पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले उद्घाटन गर्दै विधिवत् रूपमा गणेश पूजाको शुभारम्भ गर्नुभएको हो।
महोत्सव चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवका क्रममा भक्तिमय संगीतमय भजनसन्ध्या, महाआरती तथा विभिन्न देवी–देवताका कलात्मक एवं दिव्य झाँकी मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। दैनिक साँझ ७ बजेदेखि विशेष दिव्य झाँकी तथा धार्मिक सांस्कृतिक कार्यक्रम सञ्चालन हुने क्लबका पूर्वअध्यक्ष राहुल रौनियारले जानकारी दिनुभयो।
पूर्वअध्यक्ष रौनियारका अनुसार यस वर्षको गणेशोत्सवलाई विगतका वर्षभन्दा थप आकर्षक, संगीतमय तथा ऐतिहासिक बनाउने तयारी गरिएको छ। धार्मिक आस्था, संस्कृति र परम्परालाई संरक्षण गर्दै वीरगञ्जवासीलाई एकै स्थानमा भेला गराई भक्ति र श्रद्धाको वातावरण निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो।
उहाँले गणेश पूजा महोत्सवमा वीरगञ्ज तथा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको बताउँदै सम्पूर्ण वीरगञ्जवासीलाई महोत्सवमा सहभागी हुन आग्रह गर्नुभयो। चार दिनसम्म विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भएपछि पाँचौँ दिन विशेष कार्यक्रमसहित महोत्सवको समापन गरिनेछ। समापनका अवसरमा विशेष रूपमा तयार पारिएको लड्डुको भोग प्रसाद आम सर्वसाधारण तथा भक्तजनलाई वितरण गरिने आयोजकले जनाएको छ।
महोत्सवलाई आध्यात्मिक तथा शास्त्रीय विधिअनुसार सम्पन्न गराउन सुरुदेखि नै धार्मिक मार्गदर्शन तथा आचार्यको भूमिका निर्वाह गर्दै आउनुभएका चर्चित ‘ज्योतिष सम्राट’ डा। पुरुषोत्तम दुबेले यस वर्ष पनि मुख्य पण्डितको जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँको धार्मिक मार्गदर्शनमा पूजा तथा अन्य धार्मिक अनुष्ठानहरू विधिवत् रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा महाआरती, संगीतमय भजनसन्ध्या, धार्मिक अनुष्ठान तथा विभिन्न देवी–देवताका विशेष दिव्य झाँकी प्रस्तुत गरिने भएकाले भक्तजनका लागि विशेष आकर्षण रहने अपेक्षा गरिएको छ। गणेश भगवान्प्रति श्रद्धा, भक्ति र आस्था प्रकट गर्दै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको महोत्सवले वीरगञ्जको धार्मिक एवं सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने आयोजकको विश्वास छ।
कार्यक्रममा माईस्थान युवा क्लबका अध्यक्ष सागर सर्राफ,उपाध्यक्ष शुभम पटेल, कोषाध्यक्ष लखन गुप्ता, सचिव सुभाष गुप्ता तथा पत्रकार संयोजक अभिलाष कुमार गुप्ता,सन्तोष किश्वाहा लगायतको विशेष उपस्थिति रहेको थियो।
माईस्थान युवा क्लबले वीरगञ्जवासीलाई गणेश पूजा महोत्सवमा सहभागी भई धार्मिक तथा सांस्कृतिक उत्सवलाई सफल बनाउन सहयोग गर्नसमेत आग्रह गरेको छ।