वीरगंजको मितेरी पुल नजिक यात्रु तथा सर्वसाधारणका लागि चिसो पानी र विश्रामस्थल सञ्चालनमा ल्याइएको छ। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्गटा वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा मंगलबार कार्यक्रम गरी सुविधा केन्द्रको उद्घाटन गरिएको हो।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीले सुविधा केन्द्रको उद्घाटन गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा, वीरगञ्ज भन्सार कार्यालयका अधिकृत काजीबाबु कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, नेपाली सेनाको श्रीजंग गणका गणपति कर्णेल लोकेन्द्र कार्कीलगायतको उपस्थिति थियो।
त्यसैगरी सशस्त्र प्रहरी गुल्म भन्सारका प्रहरी निरीक्षक चन्द्रकान्त पौडेल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, रुङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुङ्गटा तथा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईंलगायत सुरक्षा निकाय, सामाजिक संघसंस्था र समुदायका प्रतिनिधिको सहभागिता थियो।
भारत–नेपाल सीमावर्ती मितेरी पुल क्षेत्रमा दैनिक ठूलो संख्यामा यात्रु तथा सर्वसाधारणको आवतजावत हुने भएकाले उनीहरूको सुविधालाई लक्षित गरी चिसो पानीको मेसिन र बस्ने तथा विश्राम गर्ने स्थान निर्माण गरिएको आयोजकले जनाएको छ।
गर्मीका समयमा यात्रु तथा सर्वसाधारणलाई सहज रूपमा स्वच्छ र चिसो पानी उपलब्ध गराउनुका साथै केही समय आराम गर्ने वातावरण तयार पार्ने उद्देश्यले सुविधा केन्द्र सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमकै अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि सर्वसाधारणलाई ५०० वटा बिरुवा निःशुल्क वितरण गरिएको थियो। बिरुवा वितरणमार्फत वीरगञ्ज तथा सीमावर्ती क्षेत्रमा हरियाली विस्तारसँगै वातावरण संरक्षणप्रति नागरिकलाई सचेत गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा प्रहरी, सुरक्षा निकाय, सामाजिक संस्था र स्थानीय समुदायबीचको सहकार्यमा सार्वजनिक हितका गतिविधिलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको थियो।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले यसअघि पनि सरसफाइ, वृक्षरोपण, वातावरण संरक्षण तथा सार्वजनिक सेवा प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मितेरी पुलमा सञ्चालनमा ल्याइएको चिसो पानी तथा विश्रामस्थलबाट नेपाल–भारत आवतजावत गर्ने यात्रु तथा स्थानीय सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।