पर्साको क्लार्क रिसोर्टस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोमा जुवा खेलिरहेको आरोपमा पक्राउ परेका सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना धरौटीमा रिहा भएका छन्।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध रहे पनि गत भदौ २० गते राति करिब साढे १० बजे पर्सा प्रहरीले उनीहरूलाई क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेकाहरूमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट दुई पटक गरी १० दिनको म्याद थप गरिएको थियो। पहिलो पटक ६ दिन र दोस्रो पटक ४ दिन म्याद थप गरी अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई धरौटीमा रिहा गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आरोपितहरूको कसुरको प्रकृति र भूमिकाका आधारमा फरक–फरक धरौटी रकम तोकिएको थियो। सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव २५ हजार रुपैयाँ र प्रहरी निरीक्षक प्रदीप पौडेल १८ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
त्यस्तै, सखुवाप्रसौनीका चन्दन सहनी, वीरगञ्ज–११ स्थित निम्बसका कर्मचारी ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी प्रदेशी साह जनही १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउन सहयोग गरेको आरोपमा पक्राउ परेका क्यासिनो कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र जयदेव साह भने जनही २० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
प्रहरीले क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने गतिविधिसम्बन्धी विषयमा अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।