धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक ११ दिनपछि सकुशल फेला परेका छन्। बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे घरको आँगनमा खेलिरहेका बेला बेपत्ता भएका थिए।
बालक हराएको खबर पाएलगत्तै प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरी खोजी सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जना प्रहरी परिचालन गर्नुका साथै तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी सम्भावित स्थानमा खोजतलास गरेको थियो।
घटनाको अनुसन्धानका लागि डिएसपी ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको नेतृत्वमा प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीसमेत परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले बालकलाई पटक–पटक स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न क्षेत्रमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
बालकको खोजीलाई तीव्र पार्दै धनुषाका विभिन्न नाकामा २४ घण्टा प्रहरी परिचालन गरिएको थियो। साथै प्राविधिक अनुसन्धानमार्फत शंकित महिलाको गतिविधि निगरानी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको घेराबन्दीपछि भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे पासवानले बालकलाई आफ्नो घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्। प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको हो। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बालकलाई छाडेर भागेकी पासवानलाई पनि प्रहरीले सोही दिन साँझ करिब ३ः४५ बजे भारततर्फ जाने क्रममा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।