गणेश चतुर्थी तथा ऋषिपञ्चमी पर्वको अवसरमा सनातन हिन्दू मोर्चाले वीरगंजका विभिन्न सिनेमा हलमा ‘हनुमान अंश’ फिल्म हेर्न आएका दर्शक तथा सर्वसाधारणलाई लड्डु वितरण गरेको छ।
मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषनन्द महाराजको नेतृत्वमा मंगलबार वीरगञ्जस्थित त्रिमूर्ति सिनेमा तथा एएमेक्स सिनेमा हलमा पुगेर दर्शक तथा उपस्थित सर्वसाधारणलाई प्रसादस्वरूप लड्डु वितरण गरिएको हो।
पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै चलचित्र प्रदर्शनसँगै प्रसाद वितरण गरिएको मोर्चाले जनाएको छ। कार्यक्रममा सनातन हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो।
अध्यक्ष सन्तोषनन्द महाराजले ‘हनुमान अंश’ फिल्म हेर्न आएका दर्शकलाई पर्वको अवसरमा प्रसादस्वरूप लड्डु वितरण गरिएको बताए। उनका अनुसार धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
मोर्चाले आगामी दिनमा पनि हिन्दू धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
लड्डु वितरण कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य भोगेन्द्र प्रसाद कलवार, अरविन्द मदन भल, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, वीरगञ्ज महानगर अध्यक्ष आनन्द गुप्ता, दीपक शाह, कोषाध्यक्ष राजु शाह तेली, विक्की शाह, निरञ्जन कुशवाहा, सतिम नारायण सिंहलगायतको उपस्थिति रहेको थियो।
