वीरगञ्ज । परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रा।लि।ले वीरगञ्ज महानगरपालिका–२१ स्थित श्री ने.रा. गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयलाई शिक्षकको तलबका लागि १ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ।
उद्योगका सञ्चालक मनोजकुमार दासले एक वर्षको शिक्षकको तलबबापतको उक्त रकमको चेक विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दकिशोर राम, सह–प्रधानाध्यापक सुनील कुमार झा, वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियार, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा स्थानीय समाजसेवी जितेन्द्र कुर्मी, व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा उद्योगका कर्मचारीलगायतको सहभागिता रहेको थियो।
मनोज ग्यास उद्योगले यसअघि पनि विगत चार वर्षदेखि उक्त विद्यालयका शिक्षकको तलब सहयोग गर्दै आएको जनाएको छ। उद्योगका अनुसार हालसम्म शिक्षकको तलबका लागि १ लाख ४४ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउँदै आएको हो।
यसैगरी उद्योगले वीरगञ्ज महानगरपालिका–२१ स्थित तिलपर्ती बिर्ता स्वास्थ्य चौकीलाई एक थान दुई टनको एयर कन्डिसनर मेसिन समेत प्रदान गरेको छ। करिब १ लाख ३० हजार रुपैयाँ मूल्य पर्ने उक्त एसी स्वास्थ्य चौकीको प्याथोलोजी ल्याबमा जडान गर्न उपलब्ध गराइएको उद्योगले जनाएको छ।
मनोज ग्यास उद्योग प्रा.लि.ले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ।