वीरगञ्ज — जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज हेल्थ केयर अस्पताल प्रा.लि.बीच न्यायिक हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार प्रत्येक शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म जिल्ला प्रहरी कार्यालय पर्सा, मातहतका प्रहरी कार्यालय तथा न्यायिक हिरासतमा रहेका थुनुवा र प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणका लागि वीरगंज हेल्थ केयरका चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मीको उपस्थिति रहने सम्झौतामा उल्लेख छ।
सम्झौतामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराई र प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर मल्ल तथा वीरगंज हेल्थ केयर अस्पतालका अध्यक्ष डा। अब्दुल हैस अन्सारी र प्रमुख प्रशासनिक अधिकृत भूमिका अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका थुनुवा तथा प्रहरी कर्मचारीलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट लागू गरिएको दररेटअनुसार उपचार सेवा उपलब्ध गराइनेछ।
यस्तै, वीरगंज हेल्थ केयरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने आमा सुरक्षा, खोप तथा डायलाइसिस कार्यक्रमबाट नियमअनुसार उपलब्ध हुने सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
त्यसैगरी क्यान्सर, कार्डियक तथा स्पाइनल इन्जुरी जस्ता रोगको उपचारका लागि विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत नियमानुसार एक लाख रुपैयाँसम्मको उपचार छुटरसहुलियत उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
न्यायिक हिरासतमा रहेका अभियुक्तलाई आकस्मिक स्वास्थ्य परीक्षण वा उपचार आवश्यक परेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज हेल्थ केयरबीच समन्वय गरी चिकित्सक उपलब्ध गराउने तथा आकस्मिक स्वास्थ्य परीक्षण निःशुल्क गर्ने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।
सम्झौता २०८२ साल भदौ ३१ गतेदेखि लागू हुने र यसको अवधि दुई वर्ष रहने उल्लेख छ। दुवै पक्षको सहमतिमा सम्झौता पुनः नवीकरण गर्न सकिनेछ।
मुख्य बुँदा
- प्रत्येक शुक्रबार दिउँसो २–५ बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण
- न्यायिक हिरासतमा रहेका थुनुवा र प्रहरी कर्मचारीलाई सेवा
- आवश्यक उपचारमा स्वास्थ्य बीमा बोर्डको दररेटअनुसार सेवा
- आमा सुरक्षा, खोप र डायलाइसिस कार्यक्रमअन्तर्गतका सेवा नियमअनुसार निःशुल्क
- क्यान्सर, कार्डियक र स्पाइनल इन्जुरी उपचारमा एक लाख रुपैयाँसम्म सहुलियत
- आकस्मिक स्वास्थ्य परीक्षण तथा उपचारका लागि समन्वय र निःशुल्क परीक्षण
- सम्झौताको अवधि दुई वर्ष

