वीरगन्ज,०१ असोज । सवारी साधन, कलकारखाना तथा विभिन्न यन्त्र–उपकरणका निर्माता मानिने भगवान् विश्वकर्माको पूजा–आराधना गर्दै आज देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ।
वैदिक परम्पराअनुसार प्रत्येक वर्ष असोज १ गते अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाउने गरिन्छ। यस अवसरमा कलकारखाना, औद्योगिक प्रतिष्ठान, वर्कसप तथा निर्माणस्थललाई सजाएर कालिगढ, श्रमिक तथा व्यवसायीहरूले भगवान् विश्वकर्माको पूजा गर्ने गर्छन्।
विश्वकर्मा पूजाका दिन मेसिन, औजार, उपकरण, इन्जिन तथा सवारी साधन सफा गरी पूजा गर्ने चलन छ। यस्ता सामग्रीको पूजा गरेमा तिनको आयु लामो हुने, काम प्रभावकारी हुने र कार्यस्थलमा सुरक्षा मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।
धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा द्वारका निर्माण गरेको विश्वास गरिन्छ। यही मान्यताका आधारमा विश्वकर्मालाई वास्तुकला तथा निर्माण विद्याका ज्ञाताका रूपमा पूजा गर्ने परम्परा विकसित भएको बताइन्छ।
वास्तुशास्त्रसँग समेत जोडिएको विश्वकर्मा पूजालाई पछिल्लो समय ‘वास्तु दिवस’का रूपमा पनि मनाउन थालिएको छ। व्यवस्थित सहर, भवन तथा आवास निर्माणमा वास्तुशास्त्रको प्रयोग बढ्दै गएसँगै यस दिनको महत्व पनि बढेको वास्तु क्षेत्रका जानकारहरू बताउँछन्।
दिनभर पूजा–आराधना गरेपछि विश्वकर्माको मूर्ति साँझ सुन्दरीजललगायत विभिन्न नदी तथा पवित्र जलाशयमा लगेर विधिपूर्वक विसर्जन गर्ने परम्परा रहेको छ।