प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले वर्तमान सरकार विद्यमान संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानप्रति सरकारको प्रतिबद्धता स्पष्ट रहेको बताएका हुन्।
‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ उनले भने।
प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर सक्रिय हुन नसके संविधान कागजमा मात्र सीमित हुने बताए।
‘एउटा कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ,’ उनले भने।
उनले सरकार सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रण गर्न केन्द्रित भएर अघि बढिरहेको दाबी गरे। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको उल्लेख गर्दै उनले त्यसविरुद्धको अभियानलाई निरन्तरता दिने बताए।
‘म स्पष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ प्रधानमन्त्री शाहले भने।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उनले सरकार यस विषयमा सचेत रहेको बताए। सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको पनि उनले जानकारी दिए।