वीरगञ्ज, ३ असोज । वीरगञ्जको घण्टाघरस्थित बीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गर्दै ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाइएको छ। लामो समयदेखि झाडी र फोहोरले अस्तव्यस्त बनेको पार्कको रेल्वे क्षेत्रमा महानगरपालिकाले पुनः सरसफाइ तथा व्यवस्थापनको काम थालेको हो।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा शनिबार रेल्वे क्षेत्रमा सरसफाइ गरिएको छ। झाडी बढेर तथा फोहोर थुप्रिएर प्रयोगविहीनजस्तै बनेको उक्त क्षेत्र सफा गर्दै आगामी दिनमा त्यसलाई व्यवस्थित रूपमा विकास गर्ने तयारी महानगरले गरेको जनाएको छ।
बीपी उद्यानलाई वीरगञ्जको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्रका विभिन्न क्षेत्र र संरचनालाई क्रमशः व्यवस्थित गर्ने काम हुँदै आएको छ। त्यही योजनाअन्तर्गत पुरानो रेल्वे क्षेत्रलाई वीरगञ्जको इतिहास र पहिचानसँग जोड्दै ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको थियो।
रेल्वे पार्क निर्माणको प्रारम्भिक चरणमा क्षेत्रको सरसफाइ, झाडी हटाउने तथा खाली स्थान व्यवस्थापन गर्ने काम सुरु गरिएको थियो। तर, काम अघि बढिरहेका बेला गत जेठ २५ गते मेयर सिंह निलम्बनमा परेपछि पार्कभित्रको सरसफाइ तथा व्यवस्थापनको काम प्रभावित भएको महानगरले जनाएको छ।
काम रोकिएपछि रेल्वे क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएको थियो। लामो समयसम्म नियमित व्यवस्थापन हुन नसक्दा ऐतिहासिक महत्व बोकेको उक्त क्षेत्र अस्तव्यस्त बन्न पुगेको थियो।
विशेष अदालतबाट मेयर सिंहले गत सोमबार सफाइ पाएपछि महानगरपालिकाका रोकिएका कामलाई पुनः गति दिन थालिएको छ। त्यसक्रममा महानगरको सरसफाइ अभियानलाई तीव्रता दिनुका साथै बीपी उद्यानभित्र रोकिएको रेल्वे क्षेत्रको व्यवस्थापनको कामसमेत पुनः अघि बढाइएको हो।
महानगरले रेल्वे क्षेत्रको सरसफाइलाई केवल नियमित फोहोर व्यवस्थापनका रूपमा नभई प्रस्तावित रेल्वे पार्क निर्माणको पूर्वतयारीका रूपमा अघि बढाएको जनाएको छ। अब उक्त क्षेत्रलाई थप व्यवस्थित गर्दै हरियाली, मनोरञ्जन र वीरगञ्जको ऐतिहासिक पक्षलाई समेट्ने गरी विकास गर्ने तयारी छ।
मेयर सिंहले बीपी उद्यानलाई वीरगञ्जको आकर्षक र व्यवस्थित सार्वजनिक पार्कका रूपमा विकास गर्ने महानगरको योजना रहेको बताए। घण्टाघरजस्तो शहरको व्यस्त तथा प्रमुख क्षेत्रमा रहेको पार्कलाई हरियालीसहितको मनोरञ्जनस्थलका रूपमा विकास गर्दै सर्वसाधारणका लागि उपयोगी बनाउने लक्ष्य रहेको उनको भनाइ छ।
उनका अनुसार रेल्वे क्षेत्रलाई पनि वीरगञ्जको पुरानो रेल इतिहाससँग जोडेर व्यवस्थित रूपमा विकास गरिनेछ। पार्कको समग्र विकाससँगै क्रमशः अन्य संरचना र क्षेत्रको व्यवस्थापनलाई समेत अघि बढाइने महानगरले जनाएको छ।
शनिबार रेल्वे क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा मेयर सिंहसँगै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानलगायत सहभागी थिए।