लाङटाङ लिरुङ हिमाल क्षेत्रमा गएको विशाल हिम–चट्टान पहिरो ९न्बिअष्भच बलम च्यअप ब्खबबिलअजभ० का कारण भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी बेपत्ता भएका बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलका ३६ वर्षीय नमोनारायण सिंह २३ दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि परिवारले शनिबार हिन्दु संस्कारअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।
प्रभु पटेलका जेठा छोरा नमोनारायण बाढीमा बेपत्ता भएदेखि नै परिवार, आफन्त तथा स्थानीयवासीले उनको खोजीलाई निरन्तरता दिएका थिए। घटना भएको दिनदेखि प्रहरी प्रशासन, स्थानीय तह तथा सम्भावित विभिन्न स्थानमा खोजी गरिए पनि उनको अवस्था वा कुनै सुराक फेला पर्न सकेन।
२३ दिनसम्म निरन्तर खोजतलास गर्दा पनि जीवित वा मृत अवस्थामा फेला नपरेपछि परिवार अन्ततः अत्यन्त पीडादायी निर्णयमा पुगेको हो। शव फेला नपरे पनि हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।
अन्तिम संस्कारका क्रममा बहुअरी टोल शोकमग्न बनेको थियो। आफन्त, छिमेकी तथा ठूलो संख्यामा स्थानीयवासी सहभागी भएका थिए। नमोनारायणका बुवा प्रभु पटेल आफ्नो जेठो छोराको शवसमेत फेला नपरी कुशको शवमार्फत अन्तिम संस्कार गर्नुपर्ने अवस्था आउला भन्ने आफूले कहिल्यै नसोचेको भन्दै भावुक बने।
उनले छोराको अवस्था अझै स्पष्ट नभए पनि २३ दिनसम्म आशा बोकेर खोजी गरेको बताए। तर निरन्तर खोजी गर्दा समेत कुनै खबर नआएपछि भारी मन लिएर धार्मिक संस्कार पूरा गर्नुपरेको उनको भनाइ थियो।
नमोनारायणका भाइ धरमेश पटेलले दाइको खोजीका लागि सम्भव भएसम्म सबै ठाउँमा पुगेर खोजतलास गरेको बताए। प्रहरी प्रशासनसँग समन्वय गर्नुका साथै स्थानीय तहलाई जानकारी गराएर बाढी प्रभावित सम्भावित क्षेत्रहरूमा समेत खोजी गरिएको उनले बताए।
“२३ दिनदेखि दाइको खोजीमा धेरै ठाउँ धायौँ। प्रहरी प्रशासनसँग समन्वय गर्यौँ, स्थानीय निकायलाई जानकारी गरायौँ र सम्भावित स्थानहरूमा पुग्यौँ। तर दाइको कुनै खबर पाएनौँ,” धरमेशले भने, “जीवित छन् कि छैनन् भन्ने समेत थाहा नपाई बस्नुपर्ने अवस्था भयो। अन्ततः हिन्दु रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न बाध्य भयौँ।”
परिवारका अनुसार लामो समयसम्म खोजी गर्दा समेत कुनै सुराक नपाएपछि धार्मिक तथा सामाजिक परम्परा पूरा गर्न कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। शव नभेटिएको अवस्थामा गरिएको यो संस्कारले परिवारको शोकसँगै अनिश्चितताको पीडालाई समेत झल्काएको छ।
अन्तिम संस्कारमा स्थानीय राजनीतिकर्मी, सामाजिक अगुवा, विभिन्न क्षेत्रका व्यक्तित्व, आफन्त तथा गाउँवासीको उल्लेख्य सहभागिता रहेको थियो। दाहसंस्कारका क्रममा उपस्थित स्थानीयवासीसमेत भावुक बनेका थिए।
बाढीमा बेपत्ता भएको २३ दिन बितिसक्दा पनि नमोनारायणको वास्तविक अवस्थाबारे आधिकारिक जानकारी नआउनुले परिवारको पीडा र अन्योल झनै बढाएको छ। शवसमेत फेला नपरी अन्तिम संस्कार गर्नुपर्ने बाध्यता परिवारका लागि थप भावनात्मक आघात बनेको छ।
यसैबीच, पीडित परिवारले विपत्तिको यस्तो कठिन घडीमा स्थानीय सरकारबाट अपेक्षित सहयोग र चासो नपाएको गुनासो गरेको छ। परिवारले आफ्नो पीडा र समस्यालाई गम्भीरतापूर्वक लिएर आवश्यक सहयोग गर्न स्थानीय सरकारसँग आग्रह गरेको छ।
नमोनारायणको परिवारका लागि अब २३ दिनसम्मको खोजी, प्रतीक्षा र अनिश्चितता एउटा गहिरो पीडादायी स्मृतिमा परिणत भएको छ। शव नभेटिए पनि धार्मिक संस्कार पूरा गरिएको यस घटनाले विपत्तिपछि बेपत्ता परिवारले भोग्नुपरेको अनिश्चित शोकको अवस्था उजागर गरेको छ।