संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) वीरगञ्ज, पर्साको आयोजनामा सञ्चालित ‘प्याब्सन वाणी प्रतिभा २०८३’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
असोज ३ गते संविधान दिवसका अवसरमा डीएभी स्कूल, परवानीपुरमा आयोजित प्रतियोगितामा पर्साका २८ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रीत रौनियार प्रथम भएकी छन्। उनले १६२ अंक प्राप्त गरिन्।
त्यस्तै, विद्यासदनकी अफ्रिना खातुन १५८ अंकसहित द्वितीय र द रोयल एकेडेमीकी नलिष्का प्रजापति १५७ अंकसहित तृतीय भएकी छन्। मुनलाइट माध्यमिक विद्यालयकी मनीषा चौधरी १५६ अंकसहित चौथो तथा डीएभी आरबी केडिया स्कूलकी सान्वी गुप्ता १५४ अंकसहित पाँचौँ स्थानमा रहिन्।
प्रतियोगिताको निर्णायकमा ठाकुराम बहुमुखी क्याम्पस तथा हरिखेतान बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक कविराज सुवेदी र सिमरास्थित विभिन्न कलेजमा नेपाली विषय अध्यापन गराउँदै आएका शिक्षक हरिप्रसाद प्याकुरेल रहेका थिए। दुवै निर्णायकले प्रदान गरेको १००–१०० अंकका आधारमा कुल २०० पूर्णाङ्कमा प्रतियोगिताको नतिजा निर्धारण गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रम डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्राको संयोजनमा सम्पन्न भएको थियो। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय तथा सल्लाहकार हरिश्याम ठाकुर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव तथा प्याब्सन वीरगञ्जका सचिव अमित आलोकलगायतको उपस्थिति थियो।
बाढीपीडितलाई सहयोग गर्ने विद्यालय सम्मानित
कार्यक्रमकै अवसरमा रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सहयोग गर्ने विद्यालय तथा विद्यालय परिवारलाई समेत सम्मान गरिएको थियो।
केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा आबद्ध ५३ विद्यालयले राहत तथा उद्धारका लागि सहयोग गरेका थिए। सहयोग गर्ने विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थीलाई सम्मानपत्रसहित सम्मान गर्दै उनीहरूको मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वको कदर गरिएको थियो।
प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाद्वारा जारी जानकारीअनुसार प्रतियोगिताले विद्यार्थीमा वक्तृत्वकला, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा संवैधानिक ज्ञानको विकासमा योगदान पुर्याएको छ। प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्दै सार्वजनिक वक्तृत्वकलामा प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामार्फत विद्यार्थीको प्रतिभा पहिचानसँगै विपद्का समयमा विद्यालय, विद्यार्थी, अभिभावक र समुदायबीच सामाजिक उत्तरदायित्व तथा सहयोगको भावना अभिवृद्धि गर्ने सन्देशसमेत प्रवाह भएको थियो।