नेपालमा आगामी साता भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीचको अन्तरक्रियाका कारण असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्हरूको आकलन छ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। उक्त प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले त्यसको प्रभाव नेपालमा समेत पर्न सक्ने देखिएको छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययन गर्दा आगामी दिनमा धेरै वर्षा हुने संकेत देखिएको बताएका छन्।
उनका अनुसार केही पूर्वानुमान मोडलले नेपालका केही स्थानमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने सम्भावना समेत देखाएका छन्। यस्तो वर्षा निश्चित एउटै क्षेत्रमा केन्द्रित हुन्छ भन्ने नभए पनि अत्यधिक वर्षा भएमा बाढी, पहिरो, डुबान तथा अन्य विपद्को जोखिम बढ्न सक्ने उनको भनाइ छ।
मौसमविद्हरूका अनुसार बंगालको खाडीबाट विकसित प्रणाली नेपालतर्फ अघि बढ्दा पर्याप्त जलवाष्प भित्रिने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग यसको अन्तरक्रिया भएमा वर्षाको मात्रा अझ बढ्न सक्छ।
विशेषगरी सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न भूभागमा वर्षाको प्रभाव बढी पर्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बस्ती, पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेका स्थान र कमजोर भौगोलिक संरचना भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
पछिल्ला केही वर्षमा असोज महिनामै समेत ठूलो वर्षा र त्यसबाट बाढी तथा पहिरोका घटना देखिँदै आएकाले मौसमी सूचना नियमित रूपमा लिन र मौसमअनुसार यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।
सम्बन्धित निकायले पनि मौसम पूर्वानुमान तथा बाढी–पहिरोसम्बन्धी सूचना नियमित रूपमा सार्वजनिक गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरेका छन्।