कायस्थ समुदायबीच खेलकुदको विकास, आपसी एकता, भाइचारा तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको कायस्थ प्रिमियर लिग ९केपीएल० सिजन–२ को खेलाडी अक्सन समारोह वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।
कायस्थ प्रिमियर लिग सिजन–२ का संयोजक नितेश कुमार दासको अध्यक्षतामा सम्पन्न समारोहमा चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष महेश दास प्रमुख अतिथि तथा चित्रगुप्त युवा समितिका अध्यक्ष राजन श्रीवास्तव विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा केपीएल कोर कमिटीका सदस्यहरू, प्रतियोगितामा सहभागी आठवटै टोलीका कप्तान तथा उपकप्तान, सञ्चारकर्मी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
अक्सन समारोहको मुख्य आकर्षणका रूपमा आयोजित खेलाडी छनोट प्रक्रियाबाट कुल ८८ जना खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन्। अक्सनमा खेलाडी तथा टोली व्यवस्थापनको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महेश दासलगायत वक्ताहरूले केपीएल सिजन–२ ले कायस्थ समुदायका युवालाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायभित्रको एकता, भाइचारा र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
आयोजक समितिका अनुसार कायस्थ प्रिमियर लिग सिजन–२ आगामी २०८३ कात्तिक २३ र २४ गते वीरगञ्जको आदर्शनगर खेल मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितालाई सफल, व्यवस्थित र स्मरणीय बनाउन विभिन्न व्यक्तिहरू तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने चन्दन श्रीवास्तव, कृष्णा श्रीवास्तव, चन्दन कुमार श्रीवास्तव, प्रेम श्रीवास्तव र मिहिर कुमार कर्णप्रति आयोजक समितिले विशेष आभार व्यक्त गरेको छ।
आयोजकले प्रतियोगिताको अक्सन समारोहमा सहभागी अतिथि, कोर कमिटीका सदस्य, टोलीका पदाधिकारी, सञ्चारकर्मी, खेलाडी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेको छ।