बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सन्तुलाल प्रसाद जैसवारलाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको छ।
अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको, जिम्मेवारीलाई व्यावसायिक ढंगले सम्पादन गरेको तथा शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश प्रहरी कार्यालयले जैसवारलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार जैसवारको नेतृत्वमा ज्यान, ज्यान मार्ने उद्योग, शरीर बन्धक तथा नगद र सुनचाँदी लुटपाटलगायतका गम्भीर आपराधिक घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी सफल अनुसन्धानमार्फत कानुनी दायरामा ल्याइएको छ।
त्यस्तै, सुनको सिक्री चोरी गर्ने तथा चोरीको सुन खरिद गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुका साथै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा समेत उनले प्रभावकारी भूमिका खेलेको कार्यालयले जनाएको छ।
अपराध नियन्त्रणसँगै प्रहरी–समुदाय सम्बन्ध सुदृढ गर्ने र नागरिकमा सचेतना अभिवृद्धि गर्ने काममा समेत जैसवारको भूमिका उल्लेखनीय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनको नेतृत्वमा आत्महत्या रोकथाम, जबर्जस्ती करणी, घरेलु तथा लैङ्गिक हिंसा, चोरी, महिला हिंसा, मानव बेचबिखन, लागुऔषध दुव्र्यसन न्यूनीकरण, बैंकिङ कसुर तथा साइबर अपराधसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
यस्ता गतिविधिमार्फत जिल्लाको शान्ति–सुरक्षा सुदृढ बनाउन योगदान पुर्याएको मूल्यांकन गर्दै उनलाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ छनोट गरिएको कार्यालयले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० दीपक रेग्मीले जैसवारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै प्रशंसापत्र प्रदान गरेका छन्।