रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी २४ दिनदेखि बेपत्ता रहेका वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरका ६ युवाका परिवारसँग महानगरपालिकाका मेयर राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादवले भेट गरेका छन्।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीमा जगरनाथपुरको एउटै टोलका ६ जना बेपत्ता भएका थिए। बाढी आएको २४ दिन बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ।
आइतबार वडा नं। २२ स्थित जगरनाथपुर पुगेका मेयर सिंह र पूर्वमन्त्री यादवले बेपत्ता परिवारका सदस्यसँग भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका हुन्। भेटका क्रममा उनीहरूले हालसम्म भएका खोजी प्रयास, परिवारले भोगिरहेका समस्या तथा तत्काल आवश्यक सहयोगबारे जानकारी लिए।
बाढीमा बेपत्ता हुनेमा २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन्।
साहबुद्दिन, राहुल, सरताज, समिम र सर्फराज रसुवाको टिमुरेमा रहेको मोटरसाइकल ग्यारेजमा काम गर्न पुगेका थिए। रिजवान भने बेत्रावती–१० स्थित अन्सारी मोटरसाइकल वर्कसपमा काम गर्न पुगेका थिए। बाढीपछि उनीहरू परिवारको सम्पर्कमा आएका छैनन्।
बेपत्ताको पहिचानका लागि परिवारका सदस्यले भेटिएका शवसँग डीएनए परीक्षणमार्फत मिलान गर्न रगतको नमुनासमेत बुझाएका छन्। तर, हालसम्म उनीहरूको अवस्थाबारे कुनै निश्चित जानकारी प्राप्त हुन सकेको छैन।
भेटका क्रममा मेयर सिंह र पूर्वमन्त्री यादवले बेपत्ता परिवारलाई आवश्यक सहयोगका लागि आफूहरूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। परिवारले भने लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेकाले खोजी कार्यलाई थप प्रभावकारी बनाउन र राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन्।