दिपेन्द्र जयसवाल
बाराको कोल्हवी नगरपालिका–१ स्थित तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
तामागढी पार्टी प्यालेसमा संस्थाका अध्यक्ष पदमजङ्ग प्याकुरेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष प्याकुरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी आर्थिक प्रतिवेदन संस्थाका विनोदकुमार खनालले प्रस्तुत गरेका थिए। सभामा आर्थिक वर्ष २०८२र८३ मा संस्थाको कुल कारोबार ५३ करोड १० लाख ११ हजार ३२७ रुपैयाँ ५२ पैसा पुगेको जानकारी गराइएको थियो। संस्थाले आर्थिक गतिविधिसँगै सदस्यको बचत, ऋण प्रवाह तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको जनाइएको छ।
साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्य तथा कर्मचारीलाई सम्मानसमेत गरेको थियो। उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल खुत्रुके बचतकर्ता, अनुशासित बचतकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो।कार्यक्रममा हिरामणि खनाल, सत्येन्द्र ठाकुर र युवराज बोहरालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले सहकारीबाट जुन प्रयोजनका लागि ऋण लिइएको हो, सोही प्रयोजनमा रकम खर्च गर्न सदस्यहरूलाई आग्रह गरे। ऋणको सही सदुपयोगले सदस्यको आर्थिक अवस्था सुधार गर्नुका साथै सहकारीको वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
साधारण सभामा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख बुद्धिमान चोङवाङ, कोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाईँ, कोल्हवी नगरपालिका–१ का वडाध्यक्ष राजहरण चौधरी, वडा नं। ४ का वडाध्यक्ष विष्णुप्रसाद मैनालीलगायत संस्थाका शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कालिका भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक वासुदेव रिमालले गरेका थिए।