नेसनल प्याब्सन, मधेस प्रदेशको तेस्रो प्रदेश अधिवेशन महोत्तरीको बर्दिबासस्थित होटल नाब्या प्रा।लि।मा सम्पन्न भएको छ। अधिवेशनले प्रभुलाल कुशवाहाको अध्यक्षतामा २० सदस्यीय नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
आश्विन ३ र ४ गते आयोजित अधिवेशन मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहको प्रमुख आतिथ्यता, नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष तथा संविधानसभा सदस्य गीता राणा क्षेत्रीको विशेष आतिथ्यता तथा नेसनल प्याब्सन मधेस प्रदेशका अध्यक्ष डा। नन्दन यादवको सभापतित्वमा सम्पन्न भएको हो।
अधिवेशनमा अधिवेशन संयोजक तथा निवर्तमान केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरी, पूर्व अध्यक्ष कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष ब्रजेन्द्र मिश्रा, केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, विभिन्न प्रदेशका अध्यक्ष तथा पदाधिकारीहरूका साथै मधेस प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधित्व गर्ने विद्यालय सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अधिवेशनले संगठनको नयाँ नेतृत्वसमेत सर्वसम्मत रूपमा चयन गरेको हो। प्रभुलाल कुशवाहाको अध्यक्षतामा २० सदस्यीय पदाधिकारी तथा सदस्य चयन गरिएको छ। बाँकी पाँच सदस्यलाई कार्यसमितिको बैठकबाट मनोनित गरिने र त्यसपछि २५ सदस्यीय प्रदेश कार्यसमिति पूर्ण हुने जनाइएको छ।
सर्वसम्मत नेतृत्व चयनलाई संगठनभित्रको एकता, सहकार्य र आपसी विश्वासको निरन्तरताका रूपमा हेरिएको छ। नवनिर्वाचित नेतृत्वले निजी तथा संस्थागत विद्यालयहरूको हकहित संरक्षणसँगै मधेस प्रदेशको शैक्षिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी तथा अभिभावकका साझा समस्या र सवालको सम्बोधन गर्दै शिक्षाको गुणस्तर सुधार तथा शैक्षिक क्षेत्रको विकासका लागि प्रभावकारी र परिणाममुखी कार्यक्रम अघि बढाउने नयाँ कार्यसमितिको अपेक्षा गरिएको छ।
अधिवेशनका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रबहादुर भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए। उनले निर्वाचन समितिको तर्फबाट नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए।
अधिवेशनले मधेस प्रदेशमा निजी तथा संस्थागत विद्यालय क्षेत्रका साझा समस्या, चुनौती र शैक्षिक विकासका विषयमा थप सहकार्य तथा समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।