वीरगन्ज, ५ असोज। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिदलगायतका संरचना यथास्थानमै रहने गरी सडक पुनर्निर्माणको काम अघि बढाइने बताएका छन्।
मुख्य सडक विस्तारबाट प्रभावित घरधनी तथा उनीहरूका प्रतिनिधिसँग सोमबार भएको भेटमा मेयर सिंहले धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षणलाई प्राथमिकतामा राखेर सडक विस्तारको काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताए।
धार्मिक संरचनाको संरक्षणलाई समेत ध्यानमा राखेर सडक विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको उनले जानकारी दिए। सडक सीमामा पर्ने महावीरस्थान मन्दिर, बिर्तामाई मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाहलगायतका संरचना यथास्थानमै रहने गरी सडक निर्माण अघि बढाइने उनले स्पष्ट पारे।
सडक विस्तारबाट प्रभावित घरधनीका समस्या र गुनासोबारे छलफल गर्दै मेयर सिंहले सडक सीमा छाडेर नयाँ संरचना निर्माण गर्दा कायम गर्नुपर्ने पाँच फिटको सेडब्याकसम्बन्धी व्यवस्थामा समेत पुनर्विचार गरिने बताए। मुख्य सडक क्षेत्रमा आवश्यक सुविधा र सहजता कायम हुने गरी महानगरपालिकाले सहजीकरण गर्ने उनको भनाइ थियो।
सडक विस्तारका क्रममा प्रभावित भई नयाँ संरचना निर्माण गर्नुपर्ने घरधनीलाई नक्सापासमा आवश्यक छुट तथा सहुलियत उपलब्ध गराउन महानगरपालिका तयार रहेको पनि मेयर सिंहले बताए। त्यसका लागि आगामी नगरसभाबाट आवश्यक निर्णय गराउने तयारी भइरहेको उनले जानकारी दिए।
भेटमा प्रभावित घरधनीका प्रतिनिधिहरूले सडक विस्तारका क्रममा आफूहरूले भोग्नुपरेका समस्या, भएको क्षति तथा नयाँ संरचना निर्माण गर्दा आउन सक्ने व्यावहारिक कठिनाइबारे मेयर सिंहको ध्यानाकर्षण गराएका थिए।
छलफलमा सज्जन घिरैया, ओमप्रकाश सिकारिया, सुमन क्याल, निरञ्जन चौधरी, प्रमोद सर्राफलगायत प्रभावित घरधनीका प्रतिनिधिहरूको सहभागिता थियो।