प्रहरीले सुनसरीको इटहरीबाट गाँजा लोड गरिएको एम्बुलेन्स बरामद गरेको छ ।
कोशी लोकमार्गअन्तर्गत पर्ने जंगल क्षेत्रबाट प्रहरीले एम्बुलेन्समा प्लास्टिकले पोका बनाएर राखेको अवस्थामा ४५० किलो गाँजा बरामद गरेको हो ।
मंगलबार राति करिब साढे ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानीपिया जंगल नजिकै बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूहको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्दा चालकले भगाएका थिए । प्रहरीले पिछा गरेपछि एम्बुलेन्स छाडेर चालक फरार भएका थिए ।
प्रहरीले एम्बुलेन्स र ४५० किलो गाँजा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ ।
एम्बुलेन्समा गाँजा भेटिएको यो पहिलो पटक भने होइन्, यसअघि पनि पटक(पटक एम्बुलेन्समा गाँजा बरामद भएको थियो ।
२९ वैशाखमा धरानमा को१च ७३५९ नम्बरको एम्बुलेन्समा ४४९ किलो गाँजा फेला परेको थियो ।
यसैगरी गत २१ वैशाख पनि सुनसरीको बराहक्षेत्र नगरपालिका–२, पुलठ्ठे गैडामा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद भएको थियो ।
१३ पुस २०८२ मा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले हवाई फायर गरी प्र १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद गरेको थियो । केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्सलाई चालकले भगाएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
२७ पुस २०८२ मा प्रहरीले साँगुरीगढी गाउँपालिका–६ स्थित कोशी राजमार्गमा रोकेर राखिएको ना४च ६४७४ नम्बरको एम्बुलेन्सबाट ४५१ किलो गाँजा फेला परेको थियो।
गत १९ कात्तिकमा जहदा गाउँपालिका– ३ बाट स १ च ६५६ नम्बरको एम्बुलेन्सबाट ३३ किलो ६१० ग्राम गाँजा बरामद भएको थियो ।
पछिल्ला पाँच आर्थिक वर्षमा कोशीमा ७२ हजार केजीभन्दा बढी गाँजा बरामद भएको छ । आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा १० हजार ४२० केजी गाँजा बरामद भएको थियो । २०८१/८२ मा २६ हजार ७०५ केजी र २०८२/८३ मा २७ हजार ६७१ केजी गाँजा बरामद भएको प्रहरीको तथ्यांक छ ।