९ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बिच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै देशलाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ (पुल) का रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
एसिया सोसाइटीद्वारा न्युयोर्कमा आयोजित ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ (स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी) विषयक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई चुनौती नभई राष्ट्रिय महत्त्वाकाङ्क्षा र समृद्धिको आधार मान्नुपर्ने बताए।
परम्परागत रूपमा नेपाललाई ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै उनले भने, “नेपाल सानो होइन, रणनीतिक रूपमा सही स्थानमा छ। हाम्रा छिमेकीको आकार भूगोलको यथार्थ हो, तर त्यो हाम्रो महत्त्वाकाङ्क्षाको सीमा कहिल्यै बन्नु हुँदैन।” मन्त्री खनालले नेपालको प्रश्न दुई ठुला छिमेकीबिच कसरी बाँच्ने भन्ने मात्र नभई उनीहरूका बिच र उनीहरूभन्दा बाहिर कसरी नयाँ मूल्य सिर्जना गर्ने भन्ने हुनुपर्ने स्पष्ट पारे ।
सम्बोधनका क्रममा हालैको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को सङ्ज्ञा दिँदै मन्त्री खनालले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकतामा राखिएको बताए। यसका लागि पूर्वसूचना प्रणाली, जलसम्बन्धी तथ्याङ्क आदानप्रदान, पूर्वानुमानयोग्य अनुदानमा आधारित जलवायु वित्त र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
नेपालको समृद्धिका लागि कनेक्टिभिटीको महत्त्व औँल्याउँदै मन्त्री खनालले हाम्रा पुर्खाले ‘सम्पर्कले समृद्धि सिर्जना गर्छ, अलगावले गरिबी बढाउँछ’ भन्ने सत्य बुझेकै कारण लुम्बिनी, अरनिको र भृकुटीमार्फत एसियाली सभ्यतालाई जोडेको स्मरण गरे। उनले स्वच्छ जलविद्युत्को क्षेत्रीय व्यापार, भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् निर्यात र चीनसँग सडक, सुरुङ, सुक्खा बन्दरगाह, हवाई सेवा तथा सीमापार रेलसहितको ‘ट्रान्स(हिमालयन बहुआयामिक कनेक्टिभिटी’ विकासमा जोड दिइने बताए ।
नेपालको भविष्य नेपाली जनताले नै निर्धारण गर्ने स्पष्ट पार्दै परराष्ट्रमन्त्री खनालले अमेरिका, युरोप, आसियान र ल्याटिन अमेरिकालगायत विश्वभरका साझेदारहरूलाई नेपालमा लगानी र सहकार्यका लागि आह्वान गरे ।