वीरगन्ज, ९ असोज । वीरगन्ज–१५ स्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकलाई छात्रावास, क्वार्टरलगायत आवासीय सुविधा खाली गर्न दिएको १२ घण्टे अल्टिमेटम तत्कालका लागि स्थगित गरेको छ।
कलेज प्रशासनले बिहीबार राति अर्को सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी प्रतिकूल मौसम, भारी वर्षा तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै यसअघि जारी गरिएको आवास खाली गर्ने निर्देशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।
यसअघि बिहीबार बिहान कलेजले प्रथम वर्षका सम्पूर्ण पीजी आवासीय चिकित्सकलाई सूचना जारी गर्दै कलेजबाट उपलब्ध गराइएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको थियो। साथै चिकित्सकको जिम्मामा रहेको कलेजको सम्पत्ति सम्बन्धित छात्रावास प्रशासन कार्यालयमा बुझाउनसमेत भनिएको थियो।
कलेजले अर्को सूचनामा प्रथम वर्षका पीजी आवासीय चिकित्सकहरूको शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, ड्युटी तथा अन्य प्रशिक्षण गतिविधिसमेत स्थगित रहने जनाएको थियो।
यसैबीच, आन्दोलनरत चिकित्सकहरूले केही दिनअघि काठमाडौं पुगेर आफ्ना मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डा. मोहनराज शर्मा तथा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाललगायतसँग भेटवार्ता गरेका थिए।
आन्दोलनरत चिकित्सकहरूले कलेज प्रशासनले छात्रावास तथा क्वार्टर खाली गराउन १२ घण्टे सूचना जारी गर्नुका साथै सुरक्षा गार्डसमेत परिचालन गरेर चिकित्सकलाई आवासबाट बाहिर निकाल्न खोजेको आरोप लगाएका छन्।
नेसनल मेडिकल कलेजमा प्रथम वर्षमा करिब ५२ जना पीजी चिकित्सक अध्ययनरत रहेको र तीमध्ये करिब २१ जना चिकित्सक कलेजकै छात्रावासमा बस्दै आएको बताइएको छ।
कलेज प्रशासनले भने प्रतिकूल मौसम र बाढीको जोखिमलाई ध्यानमा राखेर तत्कालका लागि आवास खाली गराउने निर्णय स्थगित गरेको जनाएको छ।